५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

98
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि केन्द्रLय बैंकले ५० अर्ब तरलता तान्ने भएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुवातबाट नै निरन्तर तरलता खिच्दै आएको छ । आर्थिक वर्षको सुरुमा साढे ३ खर्बभन्दा बैंकहरुबाट खिचेको तरलता केन्द्रीय बैंकमा मौज्दात रहने गरेकोमा पछिल्लो केही महिना यता भने २ खर्बमा झरेको छ ।

बुधबार थप ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनमार्फत अन्तरबैंक ब्याजदर नीतिगत दरको हाराहारीमा कायम राख्ने घोषणा गरेको थियो ।

तर, केन्द्रीय बैंकले भारित औसत अन्तरबैंक दरलाई निक्षेप संकलन दरको हाराहारीमा मात्रै कामय राख्न सफल भएको छ ।
केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधामार्फत् तरलता प्रशोचन गरिरहेको छ । त्यसका साथै निक्षेप संकलन बोलकबोलमार्फत पनि तरलता प्रशोचन गरेको छ ।

निरन्तर अधिक तरलता रहेको अवस्थामा अपेक्षित रुपमा कर्जाको माग नभएको र बैंकहरुसँग वैकल्पिक लगानीका क्षेत्र नहुँदा केन्द्रीय बैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ । जसले चालु आर्थिक वर्षको सुरुवातबाट नै अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि लाग्न सकेको छैन । जबकी मौद्रिक नीतिमा नीतिगत दर ५ प्रतिशत तोकिएको छ ।

पछिल्ला महिनामा कर्जा विस्तारमा केही सुधार देखिएको र निक्षेप वृद्धि सोही अनुपातमा हुन नसकेको तथा नेपाल सरकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिक तरलताको चाप केही कम भएको हो । यद्यपी अपेक्षित रुपमा कर्जा विस्तार हुन नसक्दा केन्द्रिय बैंकले अझै पनि निरन्तर तरलता खिच्नुपर्ने अवस्था कायम छ ।