
धनगढी । सुदूरपश्चिममा प्रस्तावित स्थानीय तहसम्बन्धी कानुनी प्रावधानहरूको विरोधमा विद्यार्थी र कांग्रेसका कार्यकर्ताबीच आइतबार केही समय तनाव उत्पन्न भएको छ । विद्यार्थीहरूले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि कांग्रेस पार्टीका झण्डा फ्याँकिदिएका थिए।
सोमबार कांग्रेसको सुदूरपश्चिम सम्मेलन धनगढीमा हुँदैछ । जसमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत प्रमुख नेताहरू सहभागी हुने कार्यक्रम छ ।
सम्मेलनको तयारीका लागि पार्टी कार्यकर्ताले धनगढीका मुख्य सडकमा पार्टीका झण्डा लगाएका थिए । त्यसक्रममा, विद्यार्थीहरूले झण्डा उखेरेर फ्याँकिदिएका थिए । यस घटनापछि कांग्रेस कार्यकर्ताहरू आक्रोशित भए र दुवै पक्षबीच सामान्य झडप पनि भएको थियो ।
विद्यार्थीहरूले विरोध गर्दै सुदूरपश्चिम प्रदेश सभामा पेस गरिएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवासम्बन्धी विधेयक २०८१’ का प्रावधानहरू विरोध गरिरहेका छन् ।
विधेयकमा स्थानीय तहका अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूलाई एकपटकको प्रतिस्पर्धा गरेर प्रदेश लोकसेवा आयोगमार्फत मात्र नियुक्ति प्रक्रिया गराउने प्रावधान राखिएको छ, जसले सीमित कर्मचारीलाई मात्र लाभ पुग्ने भन्दै विद्यार्थीहरू सडकमा आन्दोलन गर्दै आएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रस्तावित प्रावधान हटाइने आश्वासन दिएका छन् ।








प्रतिक्रिया