
काठमाडौं । पोखरामा एक साताको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं फर्किंदै छन् । उनको स्वागत गर्न राजावादी समूह, विभिन्न राजनीतिक दल र संघसंस्थाहरूले व्यापक तयारी गरेका छन् ।
शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । समर्थकहरूले जुलुससहित उनलाई पुर्याउने तयारी गरेका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरू विमानस्थलसम्म पुग्नेछन् । शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, शिव सेना नेपाल, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायतका समूहहरू सक्रिय छन् ।

स्वागतका लागि विभिन्न स्थानबाट जुलुस
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका नेता कमल थापाले छुट्टाछुट्टै रूपमा आफ्ना कार्यकर्ताहरू परिचालन गर्ने तयारी गरेका छन् । काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुनलगायत उपत्यकाका विभिन्न स्थानबाट समर्थकहरू जुलुससहित काठमाडौं आउँदै छन् ।
शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने र त्यसको नेतृत्व सांसद ज्ञानेद्र शाहीले गर्ने जनाइएको छ ।
सांसद शाहीको संयोजनमा एक समूह तिनकुनेमा जम्मा भई विमानस्थलतर्फ अघि बढ्नेछ भने गोकर्णेश्वर, कागेश्वरी, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट आउनेहरू चाबहिल, गौशालामा भेला भई विमानस्थलतर्फ अघि बढ्नेछन् । यस्तै, जावलाखेल, च्यासल, इमाडोल, कृष्णमन्दिरलगायत स्थानबाट पनि छुट्टाछुट्टै जुलुस निकालिनेछ ।
सुरक्षा व्यवस्थामा कडाइ
पूर्वराजाको स्वागतमा समर्थकहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । भिड नियन्त्रण र अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।
राजावादीको प्रदर्शनमा सम्भावित भिडभाड र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।
बिहानैदेखि नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य चोकहरूमा पनि अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले जुलुस अनियन्त्रित हुन सक्ने आँकलन गर्दै सुरक्षा रणनीति तयार पारिएको छ ।
राजावादीहरूको प्रदर्शनलाई व्यवस्थित गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा भिड अनियन्त्रित भई कुनै अप्रिय घटना हुन नदिन सुरक्षात्मक उपाय अपनाउने सहमति भएको छ ।
आवश्यक परे चारवटै सुरक्षा निकायलाई परिचालित गर्दै तयारी गरिएक छ ।
प्रतिक्रिया