
नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् ।
जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसान मर्कामा परेका हुन् ।
दुग्ध उत्पादक सङ्घका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइँटेलले खुला सीमा क्षेत्रबाट दैनिक एक हजार लिटर दूध अवैधरूपमा आयात भएको जिकिर गर्दै तत्काल यसको अन्त्य गर्न माग गरे ।
‘किसानले उत्पादन गरेको दूधबाट व्यापारीलाई भन्दा किसानलाई फाइदा हुनुपर्छ तर भारतबाट आएको अवैध दूधले यहाँको उत्पादनलाई विस्थापन गरेको छ’, उनले भने ।
लुइँटेलले ३० देखि ५० रुपैयाँसम्ममा भारतबाट भित्रिएको अवैध दूधको मूल्य रहेको जानकारी दिँदै भारतबाट आउने कम गुणस्तरीय दूध सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताए ।
उत्पादनका आधारमा राज्यले सुविधा दिएर किसानलाई प्रेरित गर्न आग्रह गर्दै उनले अवैध रूपमा भित्रिएको दूधबाट राज्यले कर पनि नपाएको र किसान पनि मर्कामा परेको गुनासो गरे ।
‘कर्मचारीले नदेखेजस्तो गर्ने र प्रहरी पनि थाहा नपाएजस्तो गरेर अवैध दूधको आयात भइरहेको छ’, लुइँटेलले भने ।
लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले दूधको अवैध ओसारपसार प्रहरी र कर्मचारीबीच समन्वय र सहकार्यमा जोड दिँदै नागरिकका हैसियतले कर्तव्य र दायित्व पूरा गर्न सबैलाई आग्रह गरे ।
उनले अहिलेसम्म विभिन्न अभ्यास भएको तर त्यो पर्याप्त नभएकाले त्यसलाई नयाँ ढङ्गले छलफल गरेर न्यूनीकरण गर्न प्रयास गरिने बताए ।
दुग्ध व्यवसायी पूर्णप्रसाद अधिकारीले भने, ‘दूधको व्यवस्थापन गर्न राज्यले नसक्ने हो भने पशुपालन पनि बन्द गरौँ ।’
प्रतिक्रिया