एमजी एस फाई ईभी ४४ लाखमै पाइने, कुन कुन ब्राण्डसँग गर्दैछ प्रतिस्पर्धा ?

273
Shares

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

 जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ । लोकप्रिय एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको छ ।

एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुबै भेरियन्टमा ४९ किलोवाट प्रति घन्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ ।

डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख रुपैयाँ र ४९.९९ लाख रुपैयाँ रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४ लाख ९९ लाख रहेको छ ।

जेड फो ईभी प्लेटफर्ममा निर्मित एमजी एस ५ ईभीले सेग्मेन्टमै अग्रणी नवीनता प्रस्तुत गर्ने दाबी गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ । यसमा रियर व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिंक सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङको प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुऱ्याउँने कम्पनीको दाबी छ । यी विशेषताहरूले एमजी एस ५ ईभी लाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयुभि बनाएको छ ।

एमजी मोटर्स नेपालका  जेनेरल म्यानेजर सुनिल बहादुर क्षेत्रीका अनुसार एमजी एस ५ ईभी नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । ‘यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ ईभीले नेपालको ईभी बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ,’ उनले भने ।

यो कारका प्रतिस्पर्धा बिवाईडी एट्टो थ्री, ओमोडा ई फाईभ, टाटा कर्भ ईभीसँग हुनेछ ।