सुमनाको प्रश्न: पालिकामा प्रमुख प्रशासकीय अधिकृत किन नपठाएको ?

189
Shares

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विभिन्न पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको विषयमा सरकारसँग जवाफ मागेकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले देशभरका एक तिहाइ पालिकामा तथा मधेसका ६९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको उल्लेख गर्दै सामान्य प्रशासन मन्त्रीसँग स्पष्टिकरण मागिन् ।

‘मन्त्रीज्यूले एक हप्ताभित्र पदपूर्ति गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, त्यसको स्थिति के हो ?’ उनले प्रश्न गरिन्।

श्रेष्ठले काठमाडौं महानगरपालिका मात्र नेपाल होइन भन्दै अन्य पालिकाहरूमा पनि प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने आवश्यकता औंल्याइन् । साथै, उनले सरकारको ‘अकर्मण्यता’ लुकाउन यस्तो ढिलाइ गरिएको हुनसक्ने आशंका व्यक्त गरिन्।

‘प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि तलब-भत्ता दिनु नपर्ने हुन्छ,’ उनले भनिन्, ‘के यो सरकारको अर्थतन्त्रको कमजोर स्थिति लुकाउने प्रपञ्च मात्र हो भन्ने शंका उत्पन्न हुन थालेको छ ।’