१० वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्न ६ कम्पनी सर्ट लिस्टमा

777
Shares

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा नै प्रक्रिया अगाडि बढाए पनि खरिद नियमावलीको व्यवस्था पूरा गर्न नसक्दा रद्ध भएको थियो ।

केन्द्रीय बैंकले पुन प्रक्रिया सुरु गरेकोमा लोन पोर्टफोलियो रिभ्युको लागि ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको हो ।

सर्ट लिस्टमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हाउल्याडर युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस, भारत र नेपालको जेभी मेहरा–जेकेएसएस–एसएसबीडीआई, भारतको एमएसकेए एण्ड एसोसिएट, भारत र नेपालको जेभी एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी सर्ट लिस्टमा परेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तको कर्जा र निक्षेपको तथ्यांकको आधारमा लोन पोर्टफोलियो रिभ्यु गर्ने बैंकको सूची तयार गर्नेछ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधाको लागि गरेको सम्झौताको शर्तमा १० ठुला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने उल्लख थियो । उक्त शर्त कार्यान्वयनमा ढीलाइ गरेको भन्दै आईएमएफले प्रश्नसमेत उठाउँदै आएको छ ।

राष्ट्र बैंकले सर्ट लिस्टमा परेको कम्पनीबाट एउटा कम्पनीलाई उक्त जिम्मेवारी दिनेछ । लोन पोर्टफोलियो रिभ्यु गर्ने बैंकको सूची चैत मसान्तको विवरणको आधारमा तयार हुने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन् । ९ वटा बैंक छनोटमा समस्या नभए पनि १० औं नम्बरमा पर्ने बैंक कुन हुने भन्ने चैतमा एकिन हुने उनले बताए ।