मेगा ड्रिममा अध्यक्ष महाशंकरको ‘ब्रम्हलुट’, स्कुल र निजी कम्पनीमा लगानी, यी हुन् ३९ करोड ठग्ने ‘गिरोह’

सदस्यले चलाउन थाले सहकारी

1.1k
Shares

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको करिब सवा ३९ करोड रुपैयाँ बचत संस्थाका अध्यक्ष महाशंकर रेग्मी लगायतका कारण फसेको तथ्य बाहिरिएको छ ।

संस्थाका बचतकर्ताको बचत ठगेर फरार रहेका अध्यक्ष रेग्मीले बचतकर्ताको बचत निजी स्कुल, निजी प्रालिमा लगानी गरेको तथ्य बाहिरिएको हो । उनीसँगै संस्थाका सञ्चालकले पनि बचतकर्ताको बचत ठगेर ‘मस्ती’ गरेका छन् ।

सहकारीका अध्यक्ष तथा सञ्चालकले ३७७ बचतकर्ताको ३९ करोड २४ लाख ५४ हजार ९१० रुपैयाँ ठगेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बचतकर्ताको उक्त रकम ठगीमा संलग्न १० जनामध्ये अध्यक्षसहित ६ जना फरार रहेका छन् । ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । १० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं अदालतमा ठगीको मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध पटकपटक मुद्दा दायर भएको छ ।

अहिलेसम्म सहकारीका उपाध्यक्ष गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बासुदेव भट्ट, सहकारीका सचिव महोत्तरीस्थित बर्दीबास नगरपालिका–११ का इन्द्रप्रसाद गेलाल, सहकारीका सदस्य प्यूठानको माण्डवी गाउँपालिका–१ का शरद कुमार अधिकारी, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने पक्राउ परेका छन् । जसमा भट्ट, गेलाल, न्यौपाने हाल कारागार कार्यालय डिल्लिबजारमा थुनामा रहेका छन् ।

यस्तै बचतकर्ताको बचत ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष बझाङको छबिसपाथिभरा गाँउपालिका–४ का महाशंकर रेग्मी, संस्थाका कोषाध्यक्ष ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का रविन कुमार कार्की, सहकारीका सदस्य काभ्रेको पनौती नगरपालिका–४ का राजकुमार श्रेष्ठ, लेखा समितिका सदस्य म्याग्दीको बेनी नगरपालिका–२ का प्रकाश घिमिरे, लेखा समिति सदस्य काभ्रेको धुलिखेल नगरपालिका–८ की सुभद्रा चौलागाई र सहकारीका सदस्य दोलखाको तामाकोशी गाउँपालिका–१ शेखर बस्नेत फरार रहेका छन् ।

संस्थाका अध्यक्षसहित यी हुन् बचतकर्ताको बचत ठग्ने समूह, अर्को सहकारी पनि मुछियो

सहकारीका बचतकर्ताको बचत ठग्ने मध्येका मुख्य नाइके अध्यक्ष महाशंकर रेग्मी नै हुन् । उनले संस्थाका बचतकर्ताहरूको रकमलाई सहकारीको मूल्य र मान्यताविपरित बदनियतपूर्ण निर्णय गरी ठूलो रकम लिम्पिया नेशनल स्कुलमा लगानी गरेको पाइएको छ ।

सहकारी सञ्चालक समिति अध्यक्ष महाशंकर रेग्मी, उपाध्यक्ष वासुदेव भट्ट, सचिव ईन्द्रप्रसाद गेलाल, कोषाध्यक्ष रविन कुमार कार्की, सदस्य शेखर बस्नेत, लेखा सुपरीवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने सामूहिक जमानी बसेर झण्डै १७ करोड रूपैयाँ लगानी गरेका छन् ।

स्कुलका कोषाध्यक्ष तथा प्रिन्सिपल मन्दनराज रेग्मी छन् । स्कुल दैनिक सञ्चालनमै रहेको भए पनि संस्थाको कर्जाको साँवा तथा व्याज तिरेका छैनन् । स्कुललाई कर्जा दिनेमा अध्यक्षसहित सञ्चालकको बदनियत देखिएको छ ।

साथै अध्यक्ष रेग्मीको २० प्रतिशत सेयर रहेको कम्पनी एसडीजी ग्लोबल इम्पोर्टस् प्रालिलाई २०७७ साल कात्तिक २ गते रेग्मी र प्रालिका सञ्चालक तथा ऋणीका श्रीमान् जितेन्दर सैनी जमानी बसि प्रालिका सञ्चालक अमृता श्रेष्ठलाई संस्थाको २० करोड रूपैयाँ लगानी गरेको पाइएको छ ।

सन् २०२३ जुन १६ तारिखमा सहकारी संस्थाको नाममा प्रभु बैंकमा २५ करोड रुपैयाँको चेक संस्थालाई बुझाएको पाइएको छ । संस्थाले तीन पटक बैंकमा दाखिला गरेको तर तीनै पटक खातामा पर्याप्त रकम नरहेकोले चेक बाउन्स भएको देखिएको छ ।

यस्तै घरजग्गा व्यवसायका ठूला व्यापारीहरू गुरूप्रसाद तिमल्सिना, होमप्रसाद निरौला, नरबहादुर सिंह, शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको हालका अध्यक्ष निरहरिप्रसाद उपाध्याय, उनकी श्रीमती र भाइको नाममा करिब १८ करोड रूपैयाँ, किशोर कायस्थ तथा कायस्थको श्रीमती र भाइको नाममा करिब ६ करोड रूपैयाँ कर्जा गएको छ ।

सहकारी सञ्चालक समितिका कोषाध्यक्ष रविन कुमार कार्की तथा कार्कीका दाजु र भाउजुको नाममा करिब १३ करोड रूपैयाँ, सञ्चालक समिति सदस्य शेखर बस्नेत तथा बस्नेतकी श्रीमती र भाइको नाममा करिब ५ करोड रूपैयाँ लगानी भएको छ । यस्तै मिश्रव कृषि फर्म प्रालिको नाममा २० करोड ऋण तमसुक रहेकोमा हाल ६ करोड बाँकी रहेको छ । यस्तै लेखा समिति सदस्य प्रकाश घिमिरेको नाममा करिब २ करोड रूपैयाँ बिनाधितो बदमासीपूर्ण कर्जा लगानी भएको देखिएको छ ।

अन्य ठूला ऋणीहरु ध्रुवप्रसाद न्यौपाने, शम्भु थापा, शिव चौलागाईं, ओम प्रकाश, भरतबहादुर कडायत, गणेशबहादुर चलाउने, कृष्णबहादुर खत्री, खगेन्द्रलाल देव, कुलबहादुर शाही, विष्णुबहादुर घिमिरे, सन्तोषराज भण्डारी लगायतका ऋणीहरूले समयमा कर्जाको साँवा तथा व्याज नबुझाएका कारण संस्थामा समस्या देखिएको छ ।

यस्तै संस्थाका कर्मचारीहरू दिपकराज ओझा, दिपक विक, गुञ्जबहादुर शाही, अनिल थापा, अशोक जोशी, वकिलबहादुर शाहीले समेत कर्जा अपचलन गरेको पाइएको छ ।

बचतकर्ताको बचत अपचलन गर्ने सहकारीका सञ्चालक तथा पूर्वकर्मचारीहरूलाई समेत कारबाही गर्नुपर्ने बचत फिर्ता समन्वय समितिको भनाइ छ ।

अहिले समितिले कर्जा लगेका साना सदस्यहरूलाई फोन गरेर कर्जा भुक्तानी गर्न आउन अनुरोध गरेको संयोजक विनोदसमसेर कुँवरले बताए ।

सहकारी बन्द पश्चात धेरै जसो ऋणीले कर्मचारी सन्तोष गजुरेललाई रकम बुझाएको भनेको तर संस्थामा सो रकम कतै पनि दाखिला नभएको उनको भनाइ छ । गजुरेललाई पनि कारबाही गर्नुपर्ने समितिको माग छ ।

सहकारीले गैह्रकानूनी रुपमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था मर्जर भएको भनि बदमासी गरेको पाइएको छ । संस्थाको पासबुक समेत बाडेको पाइएको छ । साथै संस्थाका अध्यक्ष सहदेव तिमल्सिनालाई समेत संस्थाको करिब ६ करोड रूपैयाँ विनाधितो सञ्चालकको मिलेमतोमा कर्जा प्रवाह भएको छ ।

समितिले ऋणीहरू र ऋणीका जमानीहरूलाई कर्जा भुक्तान गरि संस्थाका पीडित बचतकर्ताको बचत फिर्ता गर्न सहयोग गर्न अपिल गरेको छ ।

बचत फिर्ता समन्वय समिति गठन

बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बचत फिर्ता समन्वय समिति’लाई कार्यालय सञ्चालन अनुमति दिएको छ ।

माछापोखरीमा प्रधानकार्यालयको सहकारीमा घरधनी, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बालाजुको रोहबरमा कार्यालय खोलेर सञ्चालनमा ल्याएको संयोजक कुँवरले बताए ।

समितिलाई मन्त्रालयले दैनिक कार्यालय सञ्चालन गर्न, संस्थाबाट लगानी भएको ऋण उठाउन र बचत फिर्ता गर्न समन्वय गर्ने अधिकार दिएको छ ।

समितिले संस्थाका ऋणीलाई सम्पर्क गरेर ऋण उठाउन लाग्ने र बचत फिर्ता गर्ने उनको भनाइ छ ।