डेढ करोड रूपैयाँ खर्चेर विश्वविजेता गोलकिपर बुफोनलाई केपी ओली कपमा ल्याइँदै

1.7k
Shares

काठमाडौं । इटालीका विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् । बुफोन आउने चर्चासँगै उनलाई हेर्न दर्शकहरु पनि आतुर देखिएका छन् ।

युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा छन् । उनलाई नेपाल ल्याउन अयोजक युवा संघले मोटो रकम खर्चन लागेको छ ।

विश्व स्तरीय फुटबल खेलाडीलाई नेपाल ल्याउन ठूलो रकम खर्चनु पर्ने हुन्छ । उनीहरुको सुरक्षादेखि आउने जाने व्यवस्थासँगै आवासको व्यवस्थाका विषयमा पनि धेरै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

युवा संघ नेपाल स्रोतका अनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकीडलर मागेको थियो । त्यसपछि केपी ओली कपले पहिलो सिजनदेखि उठेको नाफाबाट च्यारिटी (सामाजिक कार्यमा खर्च) गर्दै आइरहेको बताएपछि बुफोनको म्यानेजमेन्ट टोलीले १ लाख डलरसम्ममा आउन राजी भएको हो ।

युवा संघ उच्च स्रोतका अनुसार आफूहरूले गरेको प्रस्तावअनुसार बुफोनले नेपाल आउन रुची देखाउँदा संघले एकपल्ट सोच्नुपरेको थियो ।

‘बुफोनको म्यानेजमेन्ट टोलीले हामीलाई सुरुवातमा ३ लाख डलरको माग गर्‍यो, यो विषयमा हामीले धेर सोच्यौं,’ स्रोत भन्छ, ‘त्यसपछि पहिलो संस्करणको प्रतियोगिताबाट नै हामीले नाफा भएको रकम च्यारिटीमा खर्च गरेको भन्यौं । हामीले सबै डकुमेन्ट पठाएपछि उनी १ लाख डलरसम्ममा नेपाल आउन तयार भएका छन्,’ उनले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

हालको विनिमयदर (एक्स्चेन्ज रेट) अनुसार १ लाख डलरबराबर १ करोड ३८ लाख हुन्छ । बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रूपैयाँ खर्च हुनेछ ।