लुम्बिनी अटोमोबाइल्स र संस्थागत एसोसिएशनसँग नाडाको छलफल, व्यवसायीका गुनासै गुनासा

56
Shares

काठमाडौं । नेपाल नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक)  एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।

फागुन २ गते बुटवल रुपन्देहीमा भएको बृहत अन्तर्क्रियामा  संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए । यसै क्रममा पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारी तहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसंगै अटोमोबाइल प्राविधिकहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंकहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको बताएका छन् ।

उनीहरुले प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोगगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भए पनि सो अनुरुप सरकारको दृष्ट्रिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिनु पर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफ्नो व्यवसायमा टिकीरहन कठीन हुदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्यांकनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या बताएका छन् ।

साथै उनीहरुले ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनु पर्ने, खुल्ला बोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या लगायतका विभिन्न विषयहरुमा प्रश्नहरु राखेका छन् ।  

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको बताउँदै सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म नाडाका मागहरु सम्बोधन भएको जानकारी दिए ।

सोहि क्रममा अध्यक्ष चौधरीले विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा सन्दर्भ मूल्यसूची समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताए ।

यसै क्रममा अध्यक्ष चौधरीले बंगलादेश भुटान भारत र नेपालबीच हुन लागेको बीबीआइएन सहमति सम्बन्धी बैठकमा स्वंयम सहभागी भएको र त्यस सहमतिले नेपालको अटोमोबाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाकोतर्फबाट धारणा राखिएको बताए ।  हालै भारतको नयाँ दिल्लीमा भारत मोबिलिटीको सन्दर्भमा नाडा, एक्मा र एयसडिसीबीच भएको सहमती बारे समेत जानकारी दिए ।

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता जनाएको छ ।