विराटनगर । मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई जिल्ला अदालत मोरङले पुर्पक्ष थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार सहकारी ठगी मुद्दाका मुख्य अभियुक्त मानिएका रौनियारविरुद्ध यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बढाथोकीले जानकारी दिए ।
यसअघि, सोही प्रकरणमा मुछिएकी संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । उनी उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् ।
अदालतले पूर्वसञ्चालक रोशन राजवंशीलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ भने अर्का सञ्चालक सन्तलाल खवासलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालतको आदेशमा भनिएको छ, ‘रौनियारले सहकारीको कारोबार गर्दा रकम हिनामिना गरेको भन्ने प्रमाणहरू मिसिलमा संलग्न रहेका छन्। हाल उपलब्ध प्रमाणका आधारमा प्रतिवादी निर्दोष रहेको विश्वास गर्ने कुनै ठोस आधार नदेखिएको हुँदा थप प्रमाण संकलनका लागि उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्ष थुनामा राख्न आवश्यक देखिएकोले सोही बमोजिम थुनवा पुर्जी जारी गरी सम्बन्धित कारागारमा पठाइनेछ।’
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरिएको उजुरी परेपछि असोज पहिलो सातामा मोरङ अदालतले अध्यक्ष रौनियारविरुद्ध पक्राउ अनुमति दिएको थियो । अनुमति जारी भएपछि उनी १०० दिनसम्म फरार रहेका थिए । सोमबार उनी कानुन व्यवसायीलाई साथमा लिएर अदालतमा उपस्थित भएका थिए ।
यो मुद्दामा २६ जना प्रतिवादी रहेका छन् । जसमा हालसम्म ५ जना अदालतमा उपस्थित भएका छन् । तीमध्ये २ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा, र २१ जना अझै फरार रहेका छन् ।
यो प्रकरणमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, संघीय सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, पूर्वसञ्चालक लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलगायत २६ जना प्रतिवादी छन् ।
अदालतमा दायर अभियोगपत्रअनुसार चम्पा गिरी, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मोहम्मद नसरुदिन, मनोजकुमार सोनी, र यशोदा कुमारी राजवंशी फरार प्रतिवादी सूचीमा छन् ।
दायर अभियोगपत्रअनुसार, प्रतिवादीहरूले सहकारीका बचतकर्ताहरूले लिने ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको, ठूलो मात्रामा रकम दुरुपयोग गरेको आरोप लगाइएको छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना गरिएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ असुल गर्नुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया