काठमाडौं । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ बचत अपचलन गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सहकारी बचत अपचनल प्रकरणमा थापा आइतबार पक्राउ परेका हुन् ।
उक्त सहकारीको बचत अपचलनको मुख्य योजनाकार थापा रहेको गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उक्त सहकारीका बचतकर्ताको १ अर्ब ४९ करोड रुपैयाँ हिनमिना भएको छ । जसमा थापाको संलग्नतामा करिब १६ करोड अपचलन भएको आरोप छ।
उक्त रकम थापाले कानूनले बर्जित गरेका क्षेत्रमा लगानी गरेको पाइएको छ । थापा उक्त सहकारीका पूर्वअध्यक्ष समेत हुन् ।
एमालेको तर्फबाट जिसस प्रमुखमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा विजयी भएका थिए ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यायले गत असारमा नै सहकारीको बचत रकम अपचलन सम्बन्धमा प्रारमिभक अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारीहरुको संलग्नतामा १ अर्ब ४९ करोड रकम अपचलन भएको देखिएको गण्डकी प्रदेशका सहकारी रजिस्ट्रार भेषराज रिजालले बताए ।
‘गत १२ असारमा प्रारम्भिक अध्ययन प्रतिवेदनसहित बचतकर्ताको बचत रकम फिर्ता गर्न समय दिएका थियौं,’ रजिस्ट्रार रिजालले भने, ‘बचत दुरुपयोगको अध्ययन रिपोर्टसहित सुधारको लागि समय दिएपछि त्यसमा अपेक्षित रुपमा काम भएन । संस्थाका सञ्चालकहरुले प्रयास नै नभएको र बचतकर्ताको दवाब बढ्दै जाँदा प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ ।’
बचतकर्ताको बचत रकम ५० करोड रुपैयाँ रहेकोले पहिले त्यसलाई फिर्ता गर्ने वातावरण बन्यो भने थप समय दिन सकिने बताउँदासमेत सञ्चालहरुले काम नगरेको सहकारी रजिस्ट्रार रिजालले बताए ।
‘संस्थामा कुल १ अर्ब ४९ करोड रुपैयाँ अपचलन भएको देखिन्छ । जसमा बचकर्ताको बचत ५० करोड र सेयर समेत करिब ८५ करोड छ,’ अन्य कोष र मुनाफासमेत उक्त रकम अपचलन भएको देखिएको हो । सहकारीको रकम अपचलन गरी सञ्चालकहरुले म्याग्दीको बेनीमा निजी स्कुल सञ्चालन गरेका छन् । त्यसबाहेक सञ्चालकहरुले जग्गामा लगानी गरेको देखिन्छ।’
सञ्चालकहरु नै समस्या समाधान गर्न तयार नभएपछि आवश्यक कारबाहीको लागि प्रहरीमा पठाएको उनले बताए । आज मात्रै प्रारम्भिक अनुसन्धानको प्रतिवेदन लगायतका कागजात पनि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई उपलब्ध गराएको उनले बताए।
बेनीमा सञ्चालनमा रहेको बुद्ध एकेडेमीमा पनि सहकारीको रकम अपचलन गरी लगानी भएको देखिएको उनले बताए । म्याग्दी जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीमा करिब ४ हजार सेयर सदस्य रहेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पूर्वअध्यक्षहरुको लगायका व्यक्तिको नाममा विभिन्न स्थानमा सम्पत्ति खरिद गर्ने लगाय कार्यमा स्रोत अपचलन भएको देखिएको उनले बताए ।
प्रतिक्रिया