नेपालमै फ्लाइङ स्कुल सञ्चालन गरेर विदेशी भूमिमा चर्को शुल्क तिरेर तालिम लिन जाने युवापुस्तालाई रोक्न सके अलाइन्स फ्लाइट सेन्टर नमूना बन्न सक्छ । यसले नेपालमा देखाएकाे सम्भावनाले विदेश पुगेर अध्ययन गर्न नसकेका नेपालीलाई पाइलट बनाउन सहयोग गर्छ भने उड्डयन क्षेत्रकाे विकासमा पनि नयाँ इँटा थप्ने काम गर्न सक्छ ।
काठमाडौं । नेपालमै पाइलट तालिम दिन अलाइन्स फ्लाइट सेन्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ । पोखरा विमानस्थललाई आधार बनाएर नेपालममै पाइलट उत्पादन गर्ने र मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गर्ने गरी यो संस्थाले अनुमति लिएको पर्यटन मन्त्रालयकी उपसचिव तनुजा पोखरेलले जानकारी दिइन् ।
पोखरेलका अनुसार उक्त संस्थाले सोमबार मात्रै इजाजतपत्र पाएको हो । अब यो संस्थाले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको शर्त पूरा गरेर उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिएपछि मात्रै औपचारिक रुपमा उडान सुरु गर्न पाउने छ ।
अलाइन्स फ्लाइट सेन्टरले फ्लाइङ स्कुल र रिक्रेसनल सेन्टरको रुपमा काम गर्ने गरी अनुमति पाएको यसका एक सञ्चालक त्रिलोक पाण्डेले क्लिकमान्डुलाई बताए । उनले भने ‘पोखराबाट र चितवनमा उडान गर्ने गरी उडान अनुमति पाएको छ । यसले पोखराको पुरानो विमानस्थलाई आधार बनाएर यो संस्थाले पाइलट तालिम तथा मनोरञ्जनका गतिविधि सञ्चालन गर्ने भएको छ ।’
पाइलट अध्ययन गर्ने नाममा वर्षेनी विदेशीने नेपाली विद्यार्थीलाई रोक्न र यही सस्तोमै पाइलट बन्ने अवसर अलाइन्सले प्रदान गर्ने उद्देश्यले इजाजतपत्र लिएको पनि पाण्डेले बताए । उनका अनुसार एक पटकमा कम्तिमा १५ जना पाइलट उत्पादन गर्ने यो कम्पनीले १८ महिनामा कमर्सियल पाइलट तयार पार्ने उद्देश्य लिएको छ ।
विदेशीमा गएर तालिम लिएका पाइलटले नेपालमा फर्किएपछि पुनः कमर्सियल पाइलट लाइसेन्स (सीपीएल)को इजाजतपत्रको परीक्षा दिनुपर्छ । नेपालमै हुने तालिममा भने प्राधिकरणकै शर्त अनुसार तालिम हुने भएकोले एकैपटक सीपीएलको इजाजत तालिम पछि पाइने छ ।
हाल नेपालीले दक्षिण अफ्रिका, अमेरिका, बेलायत, फिलिपिन्ससहितका देशमा पुगेर नेपालीले पाइलट तालिम लिने गरेको छन् । ती देशमा गएर २ सय घण्टाको तालिम लिँदा कम्तिमा ६५ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
विद्यार्थीले दक्षिण अफ्रिका वा फिलिपिन्सबाट लिने पाइलट तालिमका लागि खानबस्न बाहेक तालिममा मात्रै यस्तो रकम खर्च गरिरहेको हुन्छ भने अमेरिका गएर तालिम लिने विद्यार्थीको हकमा एक करोड रुपैयाँसम्म नै खर्च हुने गरेको छ ।
नेपालमा हुने तालिममा भने ५०/६० लाखमै पाइलट उत्पादन हुन सक्ने अलाइन्स फ्लाइटका सञ्चालक पाण्डेले बताए । पाण्डेको कम्पनीले नेपालमा पाइलट तालिम दिने र पाइलटको इजाजतपत्रको नवीकरणको लागि आवश्यक तालिम पनि यही सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
यसका लागि कम्तिमा २ वटा सिंगल इन्जिन र अर्को २ वटा मल्टि इन्जिनको जहाज ल्याएर सेवा दिने योजना बनाएको छ ।पाण्डेको अनुसार नियमित प्रक्रिया अनुसार काम भए उड्डयन प्राधिकरणबाट ६/७ महिनाभित्रै अनुमति पाउने र सन् २०२५ को अन्तिमबाट विद्यार्थीलाई तालिम दिन सुरु गर्ने योजना अगाडि सारेको छ । यसका लागि नेपाली वायुसेवा कम्पनीले खोजेकै जस्तो जनशक्ति उत्पादन गर्ने पनि बताएको छ ।
३० वर्ष वायुसेवा निगमको जहाज उडाएका क्याप्टेन प्रदीप श्रेष्ठ, व्यवसायी विनोद पौडेल र पाण्डेसहितको चार जनाको समूहले सुरु गर्दै गरेको यो अलाइन्स फ्लाईटले २८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यसका लागि उपयुक्त जहाजको खोजीसमेत गरिरहेको छ । यसले तालिमसँगै उक्त जहाजलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नेपालमा पाइलट तालिम सफल भए यसले जहाज थप गर्दै सेवाको दायरासमेत बढाउने योजना पनि अगाडि सारेको छ ।
नेपालमा फ्लाइङ स्कुलको आवश्यकता भएपनि हालसम्म सफल प्रयोग हुन भने सकेको छैन । डेढ दशक अगाडि नेपालमा शिवानी एयरले पाइलट तालिम दिन्छु भनेर विद्यार्थीबाट पैसा उठाएर तालिम दिन नसकेका कारण फ्लाइङ स्कूलको बारेमा नकारात्मक सन्देश गएको थियो । त्यतिबेलादेखिकै नकारात्मक सन्देशका कारण हालसम्म कुनैपनि पाइलट तालिमको संस्था आउन सकेका छैनन् । नयाँ संस्थाले विगतको भ्रमलाई चिरेर अगाडि बढ्ने विश्वास आर्जन गर्न सकेको अवस्थामा सफलता पनि पाउन सक्छ ।
पर्यटन मन्त्रालयले नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिने सम्बन्धी कार्यविधिमार्फत एक करोड रुपैयाँ चुुक्तपुँजी कायम गरेर मनोरञ्जनात्मक वायुसेवा तथा प्रशिक्षण संस्थाको इजाजतको निवेदन दिने व्यवस्था गरेको छ । यस्तो चुक्ता पुँजी हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ स्कुल)को हकमा १० करोड रुपैयाँको चुक्त पुँजी हुनुपर्ने व्यवस्था छ । यसरी सञ्चालन हुन चाहेका मनोरञ्जनात्मक संस्थाले ५ लाख र फ्लाइङ स्कुलले १० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर इजाजतपत्र लिने पाउने व्यवस्था छ ।
प्रतिक्रिया