राइड सेयरिङ ‘सजिलो साथी’ मा जोडिए क्याप्टन विजय लामा, यस्ता छन् सुविधा
काठमाडौं । स्वदेशी लगानीको नेपाली राइड सेयरिङ कम्पनी ‘सजिलो’ मा क्याप्टन विजय लामा जोडिएका छन् ।
विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कम्पनीको सहसंस्थापकको रुपमा क्याप्टन लामालाई आवद्ध गरिएको जानकारी दिइएको छ ।
कम्पनीमा आवद्धपछि क्याप्टेन लामाले आफू यात्रासँग जोडिएको व्यक्ति भएकोले यो व्यवसाय आफ्नो लागि निक्कै उपयुक्त हुने बताए ।
लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने विषयमा आफू कटिवद्ध रहेको जनाए ।
‘हामी अब अरूको एपमा निर्भर नभई आफ्नै स्वदेशी एप प्रयोग गरेर गन्तव्यमा पुग्नेछौं,’ उनले भने, ‘यसले हाम्रो आयस्रोत नेपालमै राख्न सहयोग प्रदान गर्नेछ ।’
उनले स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि यो एप सहयोगी हुने विश्वास व्यक्त गरे ।
सजिलो राइड सेयरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाले आफ्नो कम्पनीले बजारमा अन्य कम्पनीको भन्दा फरक सेवा प्रदान गर्ने जानकारी दिए । उनले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको बताए । ‘यात्रु र चालकको सुरक्षा हाम्रो प्रमुख दायित्व हो, हामी चालकहरूलाई गर्वका साथ ‘म चालक हुँ’ भन्न सक्ने वातावरण बनाउँदै छौं,’ उनले भने ।
सन् २०२२ मा स्थापना भएको यो कम्पनीले अहिले काठमाडौं उपत्यका केन्द्रित सेवा उपलब्ध गराउँदै आएको भए पनि निकट समयमै देशभर आफ्नो सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।
कम्पनीले अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने र एक वर्षभित्र विमानस्थलमा पिकअप सेवा सुरु गर्ने लक्ष्य राखेको छ । यसका साथै कम्पनीले चाँडै नै पार्सल र फुड डेलिभरी सेवा पनि सुरु गर्ने योजना बनाएको जनाएको छ ।
कम्पनीका सह–संस्थापक तथा प्रबन्ध निर्देशक दिवाकर खनालले राइड सेयरिङको क्षेत्रमा नेपालमै पहिलो पटक ‘जियोफेस सिस्टम’ सुरु गर्न लागेको जानकारी दिए । कम्पनीले वातावरणमैत्री प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई पनि प्राथमिकता दिएको खनालले जानकारी दिए ।
कम्पनीले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा पनि उपलब्ध गराएको छ ।
यसैगरी लगानीकर्ता कम्पनी कोलाबोरेटिभ क्याटलिस्ट प्रालिले पनि ‘सजिलो साथी’ मा लगानीकर्ताका रूपमा जोडिएको छ ।
कम्पनीले हालसम्म कमिसनमुक्त सेवा उपलब्ध गराउँदै आएको छ । तर आगामी फागुन १ गतेदेखि कमिसन लिने योजना बनाएको छ । बाइकको लागि १० प्रतिशत र ट्याक्सीको लागि ६ प्रतिशत कमिसन लाग्ने व्यवस्था गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कम्पनीले कमिसनबाट उठेको १० प्रतिशत रकम राइडरहरूको कल्याणकारी कोषमा जम्मा गर्नेछ । जुन उनीहरूलाई समस्या पर्दा प्रयोग गरिने सीईओ लामाले बताए ।
उनका अनुसार यदि कुनै यात्रुले राइड अनुरोध गरेपछि र चालकले स्वीकार गरेपछि गन्तव्यमा पुगेर फर्किने बेलासम्म बीमाले सुरक्षा दिनेछ ।
दुर्घटना भएको खण्डमा तत्काल उपचार खर्च र अन्य खर्च कम्पनीले बेहोर्नेछ । यता छुट्टै बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।
यसका साथै राइडरले यात्रुलाई लिन जाँदा १.५ किलोमिटरभन्दा बढी टाढा जानुपरेमा बाइकको लागि प्रति किलोमिटर १५ रुपैयाँ र ट्याक्सीको लागि ३५ रुपैयाँ अतिरिक्त रकम प्रदान गरिनेछ । राइड रद्द भएमा पनि चालकलाई क्षतिपूर्ति दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।