नक्कली शरणार्थी प्रकरण: सर्वोच्चद्वारा बेचन झालाई थुनामा राख्नुको कारण माग
काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ ।
आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झाको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । झा भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा पक्राउ परेका थिए । तर झाले आफ्नो संलग्नताबारे भने अस्वीकार गर्दै आएका छन् ।
झालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो।