दोधारा–चाँदनी बन्दरगाह निर्माणका लागि सम्पन्न भयो रुख कटानीबारे सम्झौता
काठमाडौं । सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिकामा निर्माण हुने सुख्खा वन्दरगाह तथा एकीकृत जाँच चौकीका लागि रुख विरुवा कटानीसम्बन्धी सम्झौता भएको छ ।
वन क्षेत्रको रुख बिरुवा कटानीको बिषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच बुधबार द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा विभागको तर्फबाट महानिर्देशक डा.रामचन्द्र कँडेल र इन्टरमोडलको तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेलले हस्ताक्षर गरेका छन् ।
सुख्खा वन्दरगाह र एकीकृत जाँच चौकी दोधारा– चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १ मा निर्माण हुने भएको छ । उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।
निर्माण हुने वनक्षेत्रको ४२.३६ हेक्टर जग्गामा भएको १७०२ वटा रुख र पोलहरु कटानी गर्ने र व्यवस्थापन गर्ने बिषयमा ति दुवै निकायबीच सम्झौता भएको हो । सम्झौताअनुसार काटिने भनेर यसअघि अध्ययन भइसकेका रुख पोलहरुको बारेमा पुनः जाँच गरेर कटानी प्रक्रिया अघि बढाइनेछ ।
काटिएको रुख र पोल व्यवस्थापन भइसकेपछि उक्त क्षेत्रफल वन्दरगाह र एकीकृत जाँच चौकीको भौतिक पूर्वाधार निर्माणको लागि भारत सरकारलाई उपलब्ध गराइने समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।
यो सुख्खा वन्दरगाह र एकीकृत जाँच चौकी भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ ।
यो आयोजनाको लागत खर्च ५ अर्ब ७६ करोड नेपाली रुपैयाँ प्रस्ताव गरिएको छ । निर्माण सुरु भएको ३ बर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको गुरुयोजना प्रतिवेदनमा उल्लेख छ ।
निर्माण सुरु भएको मितिदेखि २४ महिनाभित्रमा निर्माण सक्नुपर्ने गुरुयोजना प्रतिवेदनमा उल्लेख छ ।