नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई
काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जनकपुरका लागि लाहिरु मिलान्थाले ८७ रनको अर्धशतकीय पारी खेले । ४९ बल खलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।
जनकपुरका कप्तान आसिफ शेख १९ बलमा ३३ रन बनाएर आउट भए । उनलाई साइब जेबले आउट गराए ।
जनकपुरका हर्श ठाकेरले ३० रनको योगदान गरे । यता जनकपुरका मोहम्द मोसिन ९ रन बनाएर आउट भए । उनलाई इसान पाण्डेले बोल्ड आउट गराएका हुन् ।
सुदूरपश्चिमका लागि स्कट कुग्लिङ, दिपेन्द्र सिंह ऐरी, साइब जेब र इशान पाण्डेले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि साइब जेबले ६९ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै विनोद भण्डारीले ४१ रन बनाए । उनले ३१ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । सुदूरका ब्रान्डम म्याकमुलन र हम्रित सिंहले १४–१४ रनको योगदान गरे ।
जनकपुरका लागि मोहम्द मोसिनले सर्वाधिक किशोर महतोले ३–३ विकेट लिए । त्यस्तै ललितनारायण राजबंशी र जिम्मी निसमले १–१ विकेट लिए ।