सहकारी ठगीः लेखा समिति सभापतिकी पत्नीसहित २६ जनाविरुद्ध २२ करोड ठगीको मुद्दा



काठमाडौं । बचतकर्ताको २२ करोड रकम अपचलन गर्ने मोरङ जिल्ला धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्थाका २६ जना विरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीका बचत ठगेको भन्दै २२ करोडको उजुरी परेपछि २६ जनाविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ । सहकारीको बचत अपचलनमा एमालेका सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना बिहीबार विरुद्ध मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

कोइराला उक्त सहकारीको पूर्वसञ्चालक हुन् । २६ जनालाई नै सहकारी ऐन २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाइएको छ । २६ जनामध्ये सहकारीका सञ्चालक रोशन राजवंशी पक्राउ परेका छन् भने २५ जना फरार रहेका छन् ।

कार्यालयले मुद्दा दायर गरेकामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह रहेका छन् । यस्तै सहकारीका सञ्चालक आमोद मण्डल, रोशन राजवंशी जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यद्वय अशोककुमार विश्वास र सुरेन्द्रकुमार राजवंशी रहको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु