युनाइटेड हेल्थकेयरका सीईओ थोम्पसनको गोली हानेर हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ



एजेन्सी । गत हप्ता न्यूयोर्क शहरमा युनाइटेडहेल्थकेयरका सीईओ ब्रायन थोम्पसनको हत्या आरोपमा २६ वर्षीय लुइजी माङ्गियोनलाई पक्राउ गरिएको छ । थोम्पसनलाई म्यानह्याटनको हिल्टन होटल बाहिर गोली हानी हत्या गरिएको थियो ।

माङ्गियोनलाई सोमबार पेन्सिलभेनियाको अल्टुना सहरको म्याकडोनाल्ड्स रेस्टुरेन्टबाट पक्राउ गरिएको हो । एक ग्राहकले उनलाई चिनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पक्राउ गर्दा माङ्गियोनको साथमा अवैध हतियार, ३ पृष्ठको हस्तलिखित दस्तावेज, र १० हजार डलर नगद भेटिएको थियो।

प्रहरीका अनुसार माङ्गियोनसँग रहेको दस्तावेजले “कर्पोरेट अमेरिकाप्रति असन्तोष” देखाएको छ। घटनास्थलमा भेटिएका गोलीको खोलमा ‘डिनाइ’, ‘डिफेन्ड’, र ‘डिपोज’ लेखिएको थियो। यी शब्दहरू अमेरिकाको स्वास्थ्य बीमा प्रणालीमा प्रयोग हुने ‘थ्री डी’ रणनीतिसँग मेल खाने बताइएको छ।

माङ्गियोनलाई पेन्सिलभेनियामा अवैध हतियार राख्ने, झुटा परिचय दिनेलगायत अभियोगमा अदालतमा पेश गरिएको थियो। उनलाई धरौटीविनै जेलमा राखिएको छ। न्यूयोर्क प्रहरीले उनलाई हत्या अभियोगमा ल्याउन प्रयास गरिरहेको छ।

५० वर्षीय थोम्पसनलाई युनाइटेडहेल्थकेयरको लगानीकर्ताहरूको बैठकका लागि हिल्टन होटल बाहिर रहेको बेला गोली हानिएको थियो। यो हत्या पूर्व योजनाबद्ध रहेको प्रहरीको दाबी छ।

माङ्गियोनको परिवारले घटनामा आश्चर्य र दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

माङ्गियोन प्रतिष्ठित परिवारका सदस्य हुन्। उनले बाल्यकालमा मेरिल्यान्डको निजी विद्यालयमा अध्ययन गरेका थिए र युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट स्नातक गरेका थिए।

प्रहरीले हत्यामा प्रयोग गरिएको हतियार र साइलेन्सर माङ्गियोनसँग बरामद भएको पुष्टि गरेको छ। उनलाई न्यूयोर्कमा स्थानान्तरण गर्नको लागि कानुनी प्रक्रिया सुरु गरिएको छ।

यो घटना अमेरिकामा कर्पोरेट जगतसँग जोडिएका हिंसात्मक घटनामा थप चासोको विषय बनेको छ।


क्लिकमान्डु