राजस्व छलीमा ३ निकायले संयुक्त अनुगमन गर्ने, कर छलेर उम्किन खोज्नेलाई कडा कारबाही हुने



काठमाडौं । राजस्व चुहावट तथा कर छलीसम्बन्धी विषयमा संयुक्तरुपमा अनुगमन हुने भएको छ । आइतबार आन्तरिक राजस्व विभागमा विभागसहित भन्सार विभाग र राजस्व अनुसन्धान विभागको संयुक्त बैठकले संयुक्तरुपमा अनुगमन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी तीनवटै निकायले राजस्व चुहावट तथा कर छलीसँग सम्वन्धी संयुक्तरुपमा अनुगमन गर्ने विषयमा सहमति जनाएको हो । 

बैठकले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, बिश्लेषण गरी कार्यान्वयनका लागि एक (आपसमा सूचना आदान प्रदान गर्ने बिषयमा सहमति जनाएका छन् ।

राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भंसार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एकआपसमा अन्तर आवद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भंसार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालनमा एकअर्कालाई सहयोग गर्ने विषयमा पनि सहमति भएको छ ।

यसैगरी राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवाला तथा सर्वसाधारणसँग आह्वान गर्ने, बजार अनुगमन तथा गस्ती परिचालनमा जोड दिने, तीनवटै विभागबाट सूचनाका आधारमा प्रदर्शनीय प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने सहमति भएको छ ।

त्यसैगरी कर छली गर्ने करदातालाई कारवाहीको दायरामा ल्याउने, संकास्पद कारोबार र अनधिकृत गोदामलाई बिशेष निगरानीमा राख्ने, कर छली गर्ने मनसायले ब्यक्तिगत खाताबाट ब्यबसायिक कारोबार गर्ने प्रवृतिलाई रोक्न अन्तर निकाय सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

त्यस्तै शंकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारवाहीको दायरामा ल्याउने, राजस्व चुहावटका नयाँ प्रबृत्तिहरु पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालको माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्नेजस्ता विषयमा सहमति भएको छ ।

यस्तै नक्कली तथा झुटो कारोबार नियन्त्रण गर्नेतर्फ सामान्य तथा आर्थिकरुपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोवार गर्ने र कर छली गरी आफू कानूनको नजरमा उम्किने प्रवृतिलाई विशेष अनुसन्धान र छानवीन गरी कारवाहीको दायरामा ल्याउने, फर्म तथा कम्पनीको फेक दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यवसायिक योजना आदिलाई विशेष निगरानी गर्ने, बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक श्रोतबिना विल (विजक मात्र खरिद (बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीन वटै विभागले समन्वय गरी कानुन वमोजिम कडा कारवाही गर्ने सहमति भएको छ ।

त्यस्तै खुला सिमानाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न तथा कर छलीका कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सुक्षम रुपमा अनुगमन गर्ने, मूल्य अभिवृद्धि करतर्फ ननफाइलर तथा बक्यौता कायम रहेका करदाताहरुको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउनेजस्ता विषयमा तीनवटै निकायबीच सहमति भएको छ ।


क्लिकमान्डु