चल्न सकेन सुदूरको तुफान, लुम्बिनी अझै जितबिहिन, जनकपुर अपराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज आठौं दिन । प्रतियोगिता अन्तर्गत आजको खेलमा दुई खेल भए । आज भएका दुई खेलमा दुई बलिया तथा अपराजित टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको खेल थियो ।
प्रतियोगितामा लगातार तीन खेलमा जित निकालेका दुई टोलीमध्ये सुदूरपश्चिमले पहिलो हार बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा आज सुदूरको तुफान चल्न सकेन ।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान दिपेन्द्र सिंह ऐरी र नरेन साउद खेलमा चल्न सकेनन् । लगातार तीन खेलमा दिपेन्द्रले एक अर्धशतक सहित १४९ रन बनाएका थिए । आजको खेलमा दिपेन्द्र एक रन बनाएर आउट हुँदा अन्य खेलाडीले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ हालसम्म पाँच विकेट लिएका नरेन साउदले आज साचे अनुरुप प्रदर्शन गर्न सकेनन् । आजको खेलमा साउदले पहिलो ओभरमा नै १० रन खर्चेपछि बाँकी ओभर बलिङ गर्न पाएनन् ।
यसअघिका खेलमा १८२, १६७ र १८७ रन बनाउन सफल टोली आजको खेलमा १६५ रनको टार्गेट चेस गर्नै असफल भयो ।
यता चितवन पनि जित्नै पर्ने दबाबमा थियो । तीन खेल खेल्दा एक खेलमा पराजित भएको टोली प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्न आजको खेलमा जित्नै पर्ने थियो ।
त्यसै अनुसाको प्लानिङमा कप्तान कुशल मल्लले टिमलाई लिए । आज चितवनले अपराजित र बलियो भनेको टिमलाई हराउन सफल भयो । चितवनका इसान एसाखिल आजको खेलमा नायक बने । ६५ रनको अर्धशतकीय पारी खेलेका उनले चितवनलाई जित दिलाउन महत्त्वपूर्ण योगदान गरे । सुदूरपश्चिमका इशान पाण्डे र स्कट कुगेलिनले मात्र उत्कृष्ट प्रदर्शन गर्न सके ।
चार खेलमा एक हार र तीन जित निकालेको सुदूरपश्चिम ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । यता चार खेलमा एक हार र तीन जित निकालेको चितवनले पनि ६ अंक जोडेर आफूलाई तालिकाको तेस्रो स्थानमा कायम राखेको छ ।
लुम्बिनी दबाबमा
आजको पहिलो खेलमा चौथो हार बेहोर्दै लुम्बिनी थप निराश भएको छ । प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि अब लुम्बिनीलाई निकै असहज हुनेछ । आउने खेल लुम्बिनीले जितेर मात्रै पुग्दैन । अन्य टिमका नतीजा पनि लुम्बिनी शीर्ष ४ मा पर्ने गरी आउन जरुरी छ । यसर्थमा लुम्बिनीको शीर्ष ४ यात्रा गणितीय रुपमा सम्भव देखिन्छ ।
अक्सनको बेला भाग्यमानी साबित भएको लुम्बिनीलाई निकै बलियो टोलीको रुपमा हेरिएको थियो ।
जनकपुरका हर्श ठाकेरले कसिलो बलिङ गर्दा लुम्बिनीले लगातार चौथौ हार चाख्यो । लुम्बिनी प्रतियोगिताको एकमात्र जितबिहीन टिम हो ।
आइतबारको खेलमा ठाकेरले ४ ओभर बलिङ गरेर पाँच विकेट लिँदा २३ रनमात्र खर्चेका थिए । जनकपुरकै कप्तान अनिल शाहले आज पनि अघिल्लो खेलमा जस्तै उत्कृष्ट प्रदर्शन गरे । उनले आजको खेलमा ३९ बल खेल्दै ४५ रन बनाए ।
लुम्बिनीलाई १३६ रनको लक्ष्य दिँदा जनकपुरले आजको खेलमा जितको अपेक्षा गरेको थिएन । तर, ठाकेरले जनकपुरलाई निराश हुन दिएनन् ।
यता लुम्बिनीलाई पहिलो इनिङ्समा बलिङले साथ दिएको थियो । लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन विकेट लिएका थिए । त्यस्तै साद विन जाफर र रोहित पौडेलले दुई–दुई विकेट लिँदै कसिलो बलिङ गरेपछि लुम्बिनीले जनकपुरलाई सस्तैमा रोकेको थियो ।
दोस्रो इनिङ्समा लुम्बिनीका रोहित पौडेलले ३५ रन बनाउँदा टोम मोरेसले ३१ रन जोडे । त्यस बाहेक अर्जुन साउदले २० रन बनाउँदा अन्य कुनै ब्याटरले लुम्बिनीलाई न्याय दिलाउन सकेनन् ।
आइतबारको नतिजासँगै जनकपुर चार खेलमा लगातार जित निकाल्दै ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पुछारको लुम्बिनी अंकबिहिन छ । अब हुने चितवविरुद्धको खेलमा पराजित हुन पुगे लुम्बिनी औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिनेछ ।