कांग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा कोइरालै थिएनन्…

धेरै बोल्नेले आफूलाई सिध्याउँछ, थोरै बोल्नेले अरुलाई सिध्याउँछ: देउवा



विराटनगर । कांग्रेस शीर्ष नेता विराटनगर आउँदा कांग्रेसको जन्मघर कोइराला निवास नपुग्ने कोही हुँदैन । शनिबार सभापति शेरवहादुर देउवाले पनि त्यो परम्परालाई निरन्तरता दिए । फरक यतिमात्र थियो, घर मालिक अनि पार्टीभित्र देउवाका प्रमुख प्रतिष्पर्धी शेखर कोइराला घरमा थिएनन् ।

बीपीपुत्र तथा पूर्वमहामन्त्री शशांक कोइरालासँग निवास पुगेका देउवालाई शेखर पत्नी पुनमले स्वागत गरिन् । कांग्रेस स्रोतका अनुसार त्यसवेला पुनमले देउवालाई पार्टी भित्रको असन्तुष्टि पोखिन् । त्यसको जवाफमा देउवाले म एकछिन पाहुना आएको मानिससँग त यस्तो किचकिच छ शेखरले कसरी धानेको होला ? भन्दै मुस्कुराए । पुनम पनि के कम ? लु म आरजु भाउजुको जस्तो पार्टीमा हस्तक्षेप चाहीँ गर्दिन भन्दै देउवालाई जवाफ फर्काएको एक कांग्रसीले क्लिकमान्डुलाई बताए ।

निवासमा देउवा र सशांक केही बेर बसेर फर्के । देउवालाई निवासको वरण्डामा विगतमा गिर्जाउ (गिरिजा बाउ) बस्ने स्थानमा बसाइएको थियो । जहाँ पिताजी कृष्णप्रसाद सहित बीपी, गिर्जाउ र नोना कोइरालको फोटो झुण्ड्याइएको छ ।

देउवा संस्थापन पक्षको कोशी प्रदेश कांग्रेसले शनिबार आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार नै धरानको एक कार्यक्रममा सहभागी भएर इटहरीमा बास बसेर शनिबार बिहान विराटनगर आएका थिए । शेखर भने यो कार्यक्रममा सहभागी नहुने भन्दै शुक्रबार नै काठमाडौं उडेका थिए ।

कोइराला पक्षले पार्टीको केन्द्रीय समितिको निर्देशनको अवज्ञा गर्दै गत मंगलवार प्रदेभरीका आफनो समूहका पालिका सभापतिहरुको भेला गरेर सस्थापन पक्षलाई चुनौती दिएका थिए ।

शनिवार विराटनगरको मनास्लु होटलमा आयोजित सस्थापन पक्षको प्रदेश स्तरीय कार्यक्रममा कोइरला अनुपस्थित रहे । कार्यक्रमकालागि उनलाई निमन्त्रणा गरिएको थियो ।

संस्थापन पक्षका एक नेताले भने तर मञ्चमा आसन गराउँदा देउवापछिको मर्यादाक्रम नपाउने भएपछि उहाँ कार्यक्रममा नआउने हुनुभयो । ती नेताका अनुसार कोइरालाले संस्थापन पक्षको यो कार्यक्रममा वरिष्ठ नेता भनेर आफूलाई सम्बोधन गर्नुपर्ने र मर्यादाक्रममा देउवापछि राख्नुपर्ने अडान राखेका थिए, तर त्यो सम्भव थिएन ।

कोइराला शनिबार केन्द्रीय सदस्य दिनेश कोइरालाका पिता बितेका कारण शोकसभामा भाग लिन चितवन पुगेको बताइएको छ।

कार्यक्रममा देउवासहित महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सशांक कोइराला, पूर्णवहादुर खड्का, ज्ञानेन्द्र कार्की, गृहमन्त्री रमेश लेखक, विजयकुमार गच्छदार लगायत दर्जन बढी केन्द्रीय सदस्यको सहभागीता थिए ।

कार्यक्रममा सहभागी हरेक केन्द्रीय सदस्य र पदाधिकारीले बोल्ने क्रममा कोइराला पक्षका राजीव कोइराला र सरिता प्रसाईं लगायतले शेखरको उपस्थिती बिनाको यो कार्यक्रम अधुरो रहेको भन्दै आफनो पक्षको बचाउ गर्दा संस्थापन पक्षले पार्टीमा ६०–४० भाग खोज्नेले आफुपनि जिम्मेवारी लिएर त्यही अनुसार चल्न सक्नुपर्ने र पार्टीको निर्देशनको पालना गर्न सिक्नुपर्ने जवाफ फकाएका थिए ।

कार्यक्रममा सभापति देउवाले कोइरालाप्रति लक्षित कुनै शब्द बोलेनन् । बरु आफू कम बोल्ने भन्दै उनले आफू अगाडि अलिक बढी समय बोलेका महामन्त्री थापालाई कटाक्ष गर्दै बढी बोल्नेले आफूलाई सिध्याउ छ र कम बोल्नेले अरुलाई सिध्याउ छ भन्दा उनको यो भनाईलाई उपस्थित नेता कार्यकर्ताले अर्थपूर्ण रुपमा लिए ।

उनले यहाँ धेरै कुरा उठेको र ती कुरालाई केन्द्रीय समितिमा छलफल गर्ने बताए ।

देउवाले पार्टी संगठनलाई ग्रास रुटबाट वलियो बनाउनु पर्ने र ग्रास रुटमा बलियो पार्टी कहिल्यै पनि कमजोर हुने उल्लेख गर्दै कार्यकर्तालाई त्यसमा जुट्न निर्देशन दिए ।

पूर्वमहामन्त्री सशांकले राजनीति देश र जनताका लागि गरिनु पर्ने बताउँदै राजनीति व्याक्तिगत स्वार्थ र कुण्ठाका लागि गर्न नहुने भन्दै दाजु शेखरप्रति कटाक्ष गरे । उनले भने हिजो बीपीले पनि व्याक्तिगत स्वार्थ र कुण्ठाका लागि नभई देश र जनताका लागि राजनीति गरेको उल्लेख गर्दै गुटगत राजनीतिमा रमाउने पार्टीका नेता तथा कार्यकर्तालाई खबरदारी गरे ।

पार्टीको गएको महाधिवेशनमा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित गगन थापाले पार्टीमा ६०–४० भाग खोज्नेले आफुपनि पार्टीको संयोजनमा हिँड्न र त्यही अनुसार चल्न सक्नुपर्ने बताए । पार्टी र त्यसका सवै भातृ संगठनमा ६०–४० भाग गरेर गरिएको छ । भातृ सस्थालाई हेर्ने जिम्मेवारी पनि ६०–४० नै भाग गरिएको छ । उनले भने, ‘त्यो भाग लिइसकेपछि आफनो जिम्मेवारी पनि निभाउन सक्नुपर्छ । ६० प्रतिशत सभापतिको र ४० प्रतिशत मेरो भन्न पाइयो । तर त्यसको जिम्मेवारी पनि लिनु पर्‍यो ।’

‘हिँजो एकले अर्कालाई भोट नदिने हामी सबै एकै ठाउँमा बेसका छौं त । अस्ती मलाई मत किन नदिएको भनेर झगडा गरेर भयो त अब । सवै मिलेर काम गर्नु परेन । पार्टीमा फरक मत राख्नेलाई सभापतिले पनि समेटनु पर्छ । कोशी सम्मेलनमा उठेका विवादका सवै कुरालाई यही विर्सेर पाटी एक भएर अगाडी बढनु पर्छ,’ थापाले भने । सभापतिले पनि यसलाई सहजतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

‘गत मंगलबार कोइराला पक्षको भेला प्रति कटाक्ष गर्दै भने भोलि विराटनगररको एउटा वडाले सवै वडा अध्यक्षहरुको सम्मेलन गर्छु भन्यो भने विराटनगर महानगर समितिले के भन्छ । पार्टीको काममा देशभरी डुल्न, भेला गर्न, सभागर्न र कार्यक्रम गर्न पाइन्छ,’ थापाले भने, ‘तर आफनो मनमोजी नभई पार्टीको संयोजनमा हुनुपर्छ ।’


विनोद भण्डारी