न्यून अकुपेन्सी र उच्च भाडादरको चपेटामा गौतमबुद्ध विमानस्थल: १ महिनामा १५६ उडान, ४७०० मात्रै यात्रु




काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने वायुसेवाका न्यून अकुपेन्सी र उच्च भाडादरका कारण उडान निरन्तरतामा चुनौति बढिरहेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारसँगै धानवमार्ग दैनिक १० घण्टा बन्द हुने भए पनि १८ कात्तिक (३ नोभेम्बर)बाट भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । २३ कात्तिक (८ नोभेम्बर)बाट त्रिभुवन विमानस्थलले दैनिक ३० प्रतिशतको उडान कटौति गरेर ट्याक्सीवे मर्मत थालेपछि भैरहवा विमानस्थल विकल्प हुन पुग्यो । तर, यो विमानस्थलमा कतार, जजीरा, फ्लाई दुवई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले मात्रै उडान गरे ।


भैरहवा विमानस्थलबाट भएको उडानमा न्यून अकुपेन्सी र उच्च भाडादरका कारण गौतमबुद्ध विमानस्थलमा सञ्चालनमै चुनौति थपिएको छ । भैरहवामा ३० प्रतिशतभन्दा कम अकुपेन्सीमा पनि उडान गर्न थालेको विदेशी वायुसेवालाई अहिलेसम्म निरन्तरताको उडानप्रति विश्वास छैन । भैरहवा उडानमा न्यून अकुपेन्सी र चर्को हवाई भाडाका कारण पनि सम्बन्धित वायुसेवा र यात्रुको आकर्षण नदेखिएको उल्लेख छ ।

भैरहवामा उडानमा लाभ नदेखेकै कारण जम्मा ३८ वटा टचडाउन पछि गरेर कतार एयरलान्इस उक्त गन्तव्यमा जान चाहेन । कतारले एक महिनाको अवधिमा जम्मा १९ वटा उडान गरेको छ । उक्त संख्याको उडानबाट जम्मा ९३ यात्रुलाई मात्रै सेवा दिएको छ भने भैरहवालाई ट्रान्जिट बनाएर भने १२०३ जनाले सेवा लिएको भैरहवा विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीले जानकारी दिए ।

तिवारीले बुधबार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष प्रस्तुत गरेको एक तथ्यांकमा भैरहवा विमानस्थलको उडानमा न्यून अकुपेन्सी देखिएको छ । भैरहवामा पछिल्लो एक महिनामा जम्मा ५ वटा वायुसेवाले मात्रै उडान गरेकोमा सबैको न्यून अकुपेन्सीका बीचमा पनि उडान भइरहेको छ ।

भैरहवमा विमानस्थलमा हुने अन्तर्राष्ट्रिय वायुसेवाको उडान अवतरणमा नेपाल नागरिक उड््यन प्राधिकरणले एरोनटिकल र नन एरोनटिकल उडानमा पूर्ण छुट दिएको छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणमा लाग्ने शुल्क छूट दिएको भएपनि न्यून अकुपेन्सीमा वायुसेवा कम्पनीलाई उडान नियमित गर्नुपर्ने चुनौति छ भने उच्च भाडादरमा यात्रा गर्नुपर्ने भएकोले यात्रुको बाध्यात्मक उडान पनि मुश्किलले भइरहेको छ । न्यून अकुपेन्सीले वायुसेवालाई सञ्चालन समस्या छ भने उच्च भाडादरले यात्रुलाई पहुँच पुर्याउनै मुश्किल भइरहेको छ ।

भैरहवा विमानस्थलमा हुने उडानमा पछिल्लो एक महिनामा कतार एयरलाइन्सले १९ वटा उडान गरेर ९३ यात्रु, जजीरा एयरलाइन्सले ११ उडान गरेर ३ हजार ३४ यात्रु, फ्लाई दुवई २५ उडान गरेर ११ सय ३२ यात्रु, थाइ एयर एसियाले ५ उडान गरे ४४७ यात्रु र नेपाल वायुसेवा निगमले १२ उडान गरेर ३९ यात्रुलाई मात्रै सेवा दिएको छ । भैरहवामा एक महिनामा जम्मा उडान र अवतरण १५६ वटा मात्रै भयो भने यसबाट ४७ सय ७१ यात्रुले सेवा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीले बताएका छन् ।

भैरहवा विमानस्थलबाट हुने उडानमा सहजीकरण गर्ने सरकारको निर्णय नै कार्यान्वयन हुन नसक्दा यात्रु सेवा र सृविधामा वायुसेवा कम्पनी आकर्षित हुन नसके र यात्रुले पन विश्वास गर्न नसकेको उल्लेख छ । विमानस्थलका महाप्रवन्धक तिवारीले सरकारले निर्णय गरेपछि पनि मेडिकल टेस्ट, म्यानपावरकोे, व्यवस्था, श्रम स्वीकृति,सहिनको काम सहज हुन नसक्दा उडान प्रभावकारी हुन नसकेको बताएका छन् ।

भैरहवाबाट उडान सुरु भएको एक महिनासम्म पनि अझै श्रम स्वीकृतिलाई सजहीकरण गर्ने, श्रमिकको लागि मेडिकल गर्ने र म्यापवार कम्पनीलाई सहजीकरण गर्ने विषयमा सरकार अल्झिरहेको छ । यात्रु सेवा र सुविधामा सहजीकरण नभएकोर वायुसेवाको उडान आकर्षित गर्न नसकेको कारण अझै यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको प्राथमिकतामा नै नपरेको देखिएको छ ।


क्लिकमान्डु