चीन, भारतसहितका देशहरुलाई डलरको विकल्प नखोज्न ट्रम्पको चेतावनी



एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरुको डलरको विकल्प खोज्ने प्रयासविरुद्ध कडा चेतावनी दिएका छन् । डलरको विकल्प खोज्ने कोसिस गरिरहेका ब्रिक्स देशहरुमाथि ट्रम्पले १०० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।

ब्रिक्स अर्थात ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीचको गठबन्धनले पछिल्लो समय डलरको विकल्पमा नयाँ मुद्रा प्रयोग गर्ने पहल गरिरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । उक्त गठबन्धनमा सबैभन्दा बलियो अर्थतन्त्र भएको देश चीन र त्यसपछि भारत रहेका छन् ।

ट्रम्पले चुनाव प्रचारको क्रममा नै चीनलाई भन्सार शुल्क बढाउने आफ्नो योजनाको रुपमा अगाडि सारेका थिए । त्यसबेला उनले ६० प्रतिशतसम्म भन्सार शुल्क बढाउने योजना अगाडि सारेका थिए। उनको यस्तो घोषणासँगै ट्रम्पको कार्यकालमा दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच व्यापार युद्ध हुने आकलन गरिएको छ ।

ब्रिक्सको प्रमुख सदस्य राष्ट्रमा चीन र भारत दुबै सहभागी छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्रम्पले आफ्नो मित्र भएको बताउँदै आए पनि व्यापारसँग जोडिने विषयमा भारतविरुद्ध पनि उनले प्रतिक्रिया दिने गरेका छन् ।

शनिबार मात्रै ट्रम्पले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘डलरदेखि टाढा हुने ब्रिक्स देशहरुको प्रयासमा हामी मुकदर्शक बनिरह्यौं । यो प्रयास अब समाप्त हुन्छ ।’ उनले ब्रिक्स देशहरुले न त कुनै ब्रिक्स मुद्रा बनाउन वा न त अमेरिकी डलरको स्थान लिनका लागि अर्को मुद्रालाई समर्थन गर्न नै सक्ने भन्दै चेतावनी दिए ।

ट्रम्पले भनेका छन्, ‘हामी यी देशहरुबाट प्रतिबद्धता लिन जरुरी छ कि उनीहरुले न त कुनै नयाँ ब्रिक्स मुद्रा बनाउँछन् न त शक्तिशाली अमेरिकी डलरको ठाउँ लिनका लागि कुनै अर्को मुद्रालाई समर्थन गर्न नै सक्छन् । अन्यथा उनीहरुले १०० प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्नेछ ।’

यदि ब्रिक्स देशहरुले अमेरिकी डलरको विकल्प खोजे भने उनीहरु अमेरिकामा आफ्नो सामान विक्री गर्नबाट वञ्चित हुने ट्रम्पको चेतावनी थियो। यसका लागि उनीहरुले अर्को विकल्प खोज्नुपर्ने पनि ट्रम्पको धम्की थियो । यस्तो पहल गर्ने देशहरुले अमेरिकालाई ‘गुडबाइ’ भन्नुपर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु