निष्क्रिय कर्जा बढ्दा तनावमा राष्ट्र बैंक, लिलामीका सूचनाले पत्रिकाको व्यापार बढ्दो
नेपाल राष्ट्र बैंकले सावाँ ब्याज नतिरिरहेका ऋणीहरूलाई विभिन्न सुविधा दिए पनि नियमित सावाँ र ब्याज नतिर्नेको संख्या बढ्दा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा मात्रै बढेको छैन, वित्तीय स्थायित्व नै जोखिममा पर्ने सम्भावना बढेको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा निरन्तर बढ्दा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू तनावमा छन् । राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अधिकारीहरू बैंक तथा वित्तीय संस्थाको तथ्यांक सुधार हुने भन्दा पनि बिग्रदै गइरहेको बताउँछन्।
मौद्रिक उपकरणमार्फत राष्ट्र बैंकले सहजीकरण गर्दासमेत ऋणीहरूले नियमित साँवा र ब्याज चुक्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । सेयर बजार र घरजग्गामा लगानी गर्न बैंकबाट सहजै ऋण लिन सक्ने बाटो बनाउँदासमेत बैंक तथा वित्तीय संस्थाले साँवा र ब्याज उठाउन नसकेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
राष्ट्र बैंकले २०७९ सालमा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याउँदै चालु पुँजी प्रकृतिको कर्जा दुरुपयोग गर्नेहरूले तत्कालै ऋण चुक्ता गर्नु पर्ने व्यवस्था गरेको थियो । तर, चालु पुँजी कर्जा दुरुपयोग गर्नेहरूले व्यवसायले धान्ने भन्दा ठूलो आकारको कर्जा फिर्ता गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म समय बढाएको थियो ।
यद्यपि चालु पुँजी कर्जा दुरुपयोग गर्नेहरूले हालसम्म पनि साँवा र ब्याज फिर्ता नगरेको बैंकरहरु बताउँछन् । ‘राष्ट्र बैंकले घर जग्गा वा अन्य सम्पत्ति बिक्री गरेर भए पनि कर्जा तिर्नु पर्ने बाध्यकारी व्यवस्था नगर्दा ऋण नतिर्ने क्रम बढेको छ,’ बैंकरहरु भन्छन्, ‘नियमित साँवा र ब्याज असुल नहुँदा निष्क्रिय कर्जा निरन्तर बढी रहेको छ । राष्ट्र बैंकले कडाइका साथ हेर्यो भने निष्क्रिय कर्जा १५ प्रतिशत माथि पनि पुग्न सक्छ ।’
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैकको निष्क्रिय कर्जा ४.२८ प्रतिशत पुगेको छ । जुन असार मसान्तमा ३.७६ प्रतिशत थियो ।
‘ऋणीलाई व्यक्तिगत ऋण थप गरेर, व्यवसाय निरन्तरता कर्जा दिएर, नयाँ कम्पनी खोल्न लगाई थप ऋण दिएर लगायतका कयौँ विकल्प प्रयोग गर्दै अहिलेसम्म तथ्यांक व्यवस्थापन गरिएको छ,’बैंकरहरु भन्छन्, ‘जग्गा बिक्री गरेर सावाँ र ब्याज तिर्ने सोच ऋणीमा छैन । सबै ऋणीहरू जग्गाको मूल्य बढ्छ भन्ने सोचमा हुनुहुन्छ । तर, यथार्थमा जग्गाको मूल्य निरन्तर घटिरहेको छ ।’
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेसँग पछिल्लो समय लिलामीको सूचनाले पत्रिकाको व्यापार बढ्न थालेको हो । पछिल्लो समय १० देखी १२ पेजमा मात्रै प्रकाशित हुन थालेका दैनिक पत्रिकाहरू लिलामीको सूचना बढेसँगै १४ देखी १६ पेज प्रकाशित हुन थालेका छैन ।
‘लामो समयदेखी तथ्यांक व्यवस्थापन गर्दा समेत सावाँ ब्याज नै तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीको सम्पत्ति लिलाम सम्बन्धी सूचना निकाल्न लागिएको हो,’बैंकरहरुले भने, ‘यदि हामीले राष्ट्र बैंकले निर्धारण गरेको विधि अनुसार नै कर्जा उठाउने हो भने दैनिक लिलामीका कयौँ सूचना प्रकाशित गर्नु पर्छ।’
काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई असार मसान्तमा सरकारले भुक्तानी नदिँदा बैंकको साँवा व्याज उठ्न सकेको छैन ।
‘अहिले केही साथीहरू निर्माण व्यवसायीले भुक्तानी नपाएकाले निष्क्रिय कर्जा बढेको तर्क गर्नु हुन्छ । तर, समस्या निर्माण क्षेत्र भन्दा पनि खुद्रा कर्जामा ठुलो छ,’ राष्ट्र बैंकका अधिकारीहरू भन्छन्, ‘बैंकका ऋण लिँदै उपभोगमा खर्च गर्ने विकृति ठुलो थियो । जग्गाको मूल्य बढ्छ र बैंकको ऋण तिर्छु भन्ने सोच ऋणीहरू थियो । तर, जग्गाको मूल्य नबढ्दा कयौँ ऋणी समस्यामा छन् । यति महँगो मूल्यमा जग्गा कारोबार हुन्छ र बैंकिङ क्षेत्र सहज अवस्थामा पुग्छ भन्ने आधार नै छैन ।’
बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दा निक्षेपकर्ताले दुःख गरेर बैंकमा जम्मा गरेको बचत जोखिममा पुग्न थालेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।
‘अहिले नै वित्तीय स्थायित्व समस्यामा नै परिसकेको होइन, तर सावाँ ब्याज नउठ्ने क्रम बढ्दै भयो भने बैंकसँग जग्गा हुने तर नगद अभाव हुने अवस्थामा पनि आउन सक्छ,’राष्ट्र बैंकका अधिकारी भन्छन्, ‘अहिले विदेशी मुद्राको सञ्चितिले सहज अवस्थामा बनाएकाले राष्ट्र बैंक र अर्थ मन्त्रालय मिलेर काम गर्नु पर्ने अवस्था छ ।’