रविलाई आज साँझ काठमाडौं ल्याइँदै



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट आज काठमाडौं ल्याइँदैछ । बिहीबार साँझ ५:३० बजेको उडानबाट त्रिभुवन विमानस्थल ल्याइने बताइएको छ ।

लामिछानेमाथि काठमाडौं जिल्ला परिसरबाट पनि पक्राउ पुर्जी जारी गरिएको थियो । लामिछानेलाई दुई दिनअघि नै काठमाडौं ल्याउने तयारी गरिए पनि काठमाडौंमा रास्वपा कार्यकर्ताहरुको आन्दोलन हुनसक्ने भएपछि यात्रा रोकिएको थियो । यद्यपि प्रहरीले भने जहाजको टिकट उपलब्ध नभएको कारण देखाएको थियो ।

बिहीबार भने लामिछानेलाई काठमाडौं ल्याउने रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

‘रास्वपा सभापति रवि लामिछानेलाई अहिले ५:३० बजेको उडानबाट काठमाडौं ल्याइँदै छ। म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछु। मिलेसम्म आफ्नो सवारी साधन लिएर तपाईं पनि आउनुहोला,’ बोहोराले आफ्नो फेसबुकमा लेखेका छन् ।

लामिछानेले भने यसअघि हिरासतबाटै आफूमाथि सरकारी वकिलको कार्यालयबाटै षड्यन्त्र भएको आरोप लगाउँदै मिडिया ट्रायल भएको सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई यसअघि रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । जहाँ सरकारी वकिलको कार्यालयले सूचना चुहाएर भ्रम फैलाएको आशयको सन्देश लामिछानेले सार्वजनिक गरेका थिए ।

अब काठमाडौंस्थित सरकारी वकिलको कार्यालयमा उनको बयान लिइनेछ । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंमा ३ दिन राखिने छ ।


क्लिकमान्डु