१३ मंसिरदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्लास्टिक प्रर्दशनी
काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनले भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लास्टिक प्रर्दशनी आयोजना गर्ने भएको छ ।
प्लास्टिकको बहुआयामिक उपयोग भइरहेको विश्वव्यापी अवस्थामा १३ मंसिरदेखि १५ मंसिरसम्म प्रदर्शनी आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
नेपालमा उत्पादित विभिन्न प्लास्टिकजन्य वस्तुका उत्पादक साथै प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग गरिने विभिन्न मेसिन–औजार–उपकरण लगायत नवीनतम प्रविधि प्रदर्शनी हुने फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, चीन लगायत विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता सहभागी हुने आयोजकले जनाएको छ ।
नेपालमा प्लास्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउन प्रदर्शनीले सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
मेलाको सहआयोजक भारतको कम्प्लास्ट रहेको छ ।