कफीको समर्थन मूल्य तोकियो, ए ग्रेडको पार्चमेन्ट कफीलाई प्रतिकिलो ५३५ रुपैयाँ
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यो बर्षको लागि कफीको समर्थन मूल्य तोकेको छ ।
जसअनुसार फ्रेस चेरी कफीतर्फ ए ग्रेडको कफीलाई प्रतिकिलो १०५ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यस्तै ग्रेड बीको कफीलाई ९५ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
राष्ट्रिय कफी दिवसको अवसर पारेर बोर्डले कफीको समर्थन मूल्य तोकेको हो । प्रत्येक बर्षको मंसिर १ गतेलाई विविध कार्यक्रम गरेर राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ ।
बोर्डका अनुसार पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५३५ र बी ग्रेडको कफीलाई ४८२ रुपैयाँ प्रतिकिलो समर्थन मूल्य तोकिएको छ ।
यस्तै ड्राइ चेरीतर्फ ए ग्रेडको कफीलाई २८० र बी ग्रेडको कफीलाई २४६ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
पछिल्लो १० बर्षको अवधीमा यो बर्ष कफीको मूल्य सबैभन्दा बढी हो । अघिल्लो बर्ष फ्रेस चेरीतर्फ ए ग्रेडको कफीलाई १००, बी ग्रेडलाई ९० रुपैयाँ तोकिएको थियो ।
यस्तै पार्चमेन्टतर्फ ए ग्रेडको कफीलाई ५०० र बी ग्रेडको कफीलाई ४५० रुपैयाँ तोकिएको थियो । त्यसैगरी ड्राइ चेरीतर्फ ए ग्रेडलाई २०० र बी ग्रेडलाई १५० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।
नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालका कफी खेतीको सुरुआत भएको मानिन्छ ।
बोर्डका कार्यकारी निर्देशक बेनुप्रसाद प्रसाईका अनुसार गत आर्थिक बर्ष २०८०/८१ मा देशभर गरी नेपालमा ५०१.३ मेट्रिक टन ग्रीनवीन कफी उत्पादन भएको थियो भने ६५४ हेक्टरमा कफीको नयाँ बोट रोपण भएको थियो । कूल उत्पादनको झण्डै १७ प्रतिशत कफी निर्यात भएको तथ्याँकले देखाएको छ ।
नेपालमा ४ हजार ३ सय ९ हेक्टरमा कफी खेतीको विस्तार भएको छ ।
गत आर्थिक बर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको थियो । त्यहि अवधीमा ४१ करोड ९८ लाख रुपैयाँबराबरको ४४३ मेट्रिक टन कफी आयात भएको थियो ।
नेपाली कफी निर्यात हुँदा करिब प्रतिकिलो १६ अमेरिकी डलर प्राप्त गर्दैआएको छ । नेपालको आन्तरिक बजारमा भने बर्षेनी २ हजार २ सय मेट्रिक टनभन्दा बढी कफी खपत हुने गर्छ । खपतको तुलनामा उत्पादन कम हुँदा आन्तरिक उत्पादनले १ महिना पनि धान्न नसकेको बोर्डको भनाई छ ।
स्पेसियालिटी कफीको रुपमा नाम कमाएको नेपालको कफीको माग स्वदेश तथा विदेशमा उच्च छ । गत सेप्टेम्वर १ देखि १२ तारिखसम्म वेलायतको लण्डनमा सम्पन्न भएको अन्तर्राष्ट्रि कफी परिषद्को १३८ औं बैठकका क्रममा नेपालले सञ्चालन गरेको कफी टेस्टिङ्गमा विश्वभरको कफीको तुलनामा नेपाली कफीको स्वाद र गुणस्तर विश्वस्तरीय रहेको पुष्टि भएको थियो ।