सेल्सबेरी चलाउने सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापार बढ्यो, २ अर्ब बढीको कर्जा रेटिङ
काठमाडौं । सेल्सबेरी नाममा डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनीको व्यापार विगत पाँच वर्ष यता निरन्तर बढिरहेको छ । गत वर्षपनि यसको व्यापार अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ ।
सन् २०१९ मा यो कम्पनीले १ अर्ब ४८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२० मा १ अर्ब ७३ करोड र सन् २०२१ मा यसको व्यापार २ अर्ब पुगेको थियो ।
सन् २०२२ मा यसको व्यापारमा थप वृद्धि भएर २ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२३ मा यसको व्यापारमा थप वृद्धि भएर २ अर्ब ८१ करोड ९० लाखको व्यापार भएको छ ।
सन् २०१४ मा पोखराबाट सुरु भएको यो कम्पनीले पोखराका साथै ललितपुर र काठमाडौंमा गरि ३१ वटा डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । यो कम्पनीको स्वामित्व भने शुशिलमान प्रधानाङ्ग र सृजना श्रेष्ठसँग क्रमश: ५१ र ४९ प्रतिशत रहेको छ । कम्पनीको सीईओमा शुशिलमान प्रधानाङ्ग रहेका छन् ।
कम्पनीले हालका लागि २ अर्ब ४५ करोड २४ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले कोषमा आधारित दीर्घकालीन कर्जा सुविधामा १ अर्ब ४४ करोड २४ लाख रुपैयाँका लागि एलबी माइनस र कोषमा आधारित अल्पकालिन कर्जा सुविधामा ८६ करोड रुपैयाँ र कोषमा आधारित नरहेको १५ करोडको अल्पकालिन कर्जा सुविधा दुवैका लागि एफोर रेटिङ दिएको छ ।