प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ भएको युनिलिभरको नाफा ५% ले घट्यो, यस्तो छ कारण



काठमाडौं । युनिलिभर नेपालको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा गरेको हो ।

कम्पनीले यस अवधिमा गरेको नाफा गत आवको सोही अवधिको तुलनामा साढे २ करोड (४.६ प्रतिशत) कम हो । गत आवको पहिलो ३ महिनामा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीको व्यापार घट्दा नाफामा पनि कमी आएको हो । ३ महिनामा कम्पनीले सञ्चालनबाट २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवमा यस्तो आम्दानी २ अर्ब ३२ करोड ५२ लाख थियो ।

नाफा घट्दा युनिलिभरको प्रतिसेयर आम्दानी पनि घटेको छ । वार्षिकीकरण गरिएको कम्पनीको ईपीएस २२१८ बाट घटेर २०९६ कायम भएको हो । यता प्रतिसेयर नेटवर्थ ५३३७ रुपैयाँबाट बढेर ५८३६ रुपैयाँ कायम भएको छ ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले लाइफब्वाइ साबुन, सन्सिल्क स्याम्फू, लक्स, पोन्डस्, फियर एण्ड लभ्लीजस्ता घरायासी सामान उत्पादन गर्छ । कम्पनीलेसन् १९९२ देखि नेपालमा व्यवसायिक उत्पादनहरु गरिरहेको छ । युनिलिभर नेदरल्यान्ड र यूकेमा मुख्य कार्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । जसले हिन्दुस्तान युनिलिभर इन्डियामार्फत नेपालमा ८० प्रतिशत लगानी गरेको छ ।

युनिलिभर नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । आजको दिनमा कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४८ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।


क्लिकमान्डु