अब उपत्यकाको प्रवेश विन्दुमै दूधको गुणस्तर परीक्षण
काठमाडौं । राजधानीको नाकामा बाहिरी जिल्लाबाट भित्रिने तरल दूधको गुणस्तर परीक्षण गर्ने कार्य सुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजधानीको सीमा नाकामा मोवाइल फुड ल्याव भ्यान सञ्चालन गरी र्यापीड रेस्पोन्स टीमको सहयोगमा कच्चा दूधको परीक्षण गर्ने कार्य सुरु गरेको हो ।
प्रहरी वृत जगातीको सहयोगमा विभागको टोलीले काठमाण्डौ उपत्यकामा प्रवेश गरेका कच्चा दुध ढुवानी साधन र दूधको गुणस्तर परीक्षण गरेको हो । यसै क्रममा भक्तपुरको चुनदेवीबाट बा २९ च ४२२९ नम्बरको ढुवानी सवारी साधनमा ल्याउँदै गरेको २८० लिटर, भक्तपुरको साँगाबाट बा १० च ६९७१ नम्बरको ढुवानी साधनबाट ल्याउँदै गरेको ३६० लिटर, बनेपाबाट ल्याउँदै गरेको बा ५ ख २३७१ नम्बरको सवारी साधनको ८०० लिटर र बनेपाको बुडवललाई ल्याउदै गरेको बाप्रण १–३१ च १५७२ नम्बरको सवारी साधनबाट १२५ लिटर दूधको नाकास्थलमै परीक्षण गरिएको थियो ।
यसैगरी बनेपाबाट ल्याउदै गरेको बा ४ ख ६९३१ नम्बरको सवारी साधनबाट २९० लिटर दूधको गुणस्तर पनि परीक्षण गरिएको छ ।
विभागका प्रवक्ता मोहन महर्जनका अनुसार परीक्षणको क्रममा दूधमा खाने सोडा, चिनी, युरिया र स्ट्टार्चजस्ता बाह्य पदार्थहरुको उपस्थिति पाइएको छैन । दूध प्राकृतिक रुपमा गुणस्तरीय भएको विभागको टोलीले जनाएको छ ।