स्वदेशी उद्योगीको गुनासो: बंगलादेशको गार्मेन्ट उद्योग भित्र्याउन सरकारले चासो देखाएन



काठमाडौं । बंगलादेशका केहि तयारी पोशाक र जुत्ता उद्योग नेपालमा सिफ्ट हुन खोजे पनि सरकारले चासो नदिएको उद्योगीहरुले गुनासो गरेका छन् ।

बंगलादेशमा केही महिनादेखि जारी राजनीतिक अस्थिरताका कारण त्यहाँका केही उद्योग केही अंश लिएर नेपालसहित भारत, भियतनाम र कम्वोडियालगायतका मुलुकमा सिफ्ट हुन खोज्दैछन् ।

यो क्रममा भारतले ति उद्योगलाई भित्र्याउन आवश्यक पर्ने नीतिमा व्यापार सुधार गरेर स्वागतका लागि रेड कार्पेट ओछ्याउनै लाग्दा नेपालले भने कुनै चासो नदेखाएको उद्योगीहरुको गुनासो छ ।

बंगलादेशको गार्मेन्ट म्यानुफेक्चर्स एण्ड एक्सपोर्टस एशोसिएन(बीजीएमईए) का अनुसार त्यहाँको घरेलु राजनीतिक अस्थिरताका कारण पछिल्लो ९ महिनाको अवधीमा ७२ अर्ब १ करोड २६ लाख नेपाली रुपैयाँबराबरको क्षति व्यहोरेको छ ।

राजनीतिक अस्थिरताका कारण बंगलादेशको ३ हजार गार्मेन्ट उद्योगमध्ये अहिले करिब ९ सयको संख्यामा सानो र मध्यम उद्योग बन्द भइसकेका छन् ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार गार्मेन्ट र जुत्ता उद्योगलाई बंगलादेशले उपलब्ध गराएको सुविधाजस्तै नेपालमा पनि उपलब्ध गराउन गत भदौमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराए पनि मन्त्रालयले कुनै चासो नदेखाएको जानकारी दिए ।

‘गत साउनको अन्तिम साता र भदौको पहिलो साता बंगलादेशको गार्मेन्ट र जुत्ता उद्योगी वैदेशिक लगानीसहित उद्योगको केही अंश लिएर नेपालमा सिफ्ट हुन सकिन्छ भनेर जिज्ञासहित संघको सम्पर्कमा आएका थिए,’ संघ अध्यक्ष पाण्डेले क्लिकमान्डुसँग भने, ‘उनीहरुले उद्योग सञ्चालन गर्दा र निर्यात गर्दा बंगलादेशले विभिन्न तहमा उपलब्ध गराएको सुविधा नेपालले उपलब्ध गराउन सके आफूहरु तत्कालै नेपालमा डायभर्ट हुने आश्वासन दिएका थिए ।’

यो विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई औपचारिक रुपमा जानकारी गराउँदा पनि मन्त्रालयले चासो नदेखाएको पाण्डेले जानकारी दिए ।

रिलायन्स स्पिनिङ्ग मिलका निर्देशक तथा उद्योगी शशिकान्त अग्रवालले पनि बंगलादेशको गार्मेन्ट तथा जुत्ता उद्योग नेपालमा भित्र्याउन सरकारले चासो नदेखाएको जानकारी दिए ।

‘बंगलादेशको समस्याबाट नेपालले ठूलो अवसर प्राप्त गर्न सक्छ, यो अवसरलाई समयमै नेपालले हासिल गर्न सकेन भने फेरी फेरी यस्तो अवसर नेपालले प्राप्त गर्न सक्दैन्,’ अग्रवालले भने,‘बंगलादेशको गार्मेन्ट उद्योग नेपालमा भित्रिदा नेपालको धागो उद्योगलाई पनि प्रत्यक्ष रुपमा फायदा हुन्छ ।’

गार्मेन्ट उद्योग आउँदा त्यस्ता उद्योगलाई कच्चा पदार्थको रुपमा आवश्यक पर्ने विभिन्न प्रकारको धागो स्वदेशी उद्योगबाट आपूर्ति गर्न सकिने भन्दै उनले गार्मेन्ट उद्योगका कारण धागो उद्योगको क्षमता बढ्नुका साथै रोजगारीको थप अवसरसमेत सिर्जना हुने जानकारी दिए ।

‘नेपालमा गार्मेन्ट उद्योग खुल्नु भनेको बहुक्षेत्रलाई उपलब्धी हासिल गर्नु पनि हो, गार्मेन्ट उद्योग भनेको धेरै ठूलो जनसंख्यालाई रोजगारी दिन सक्ने क्षमता भएको उद्योग हो, त्यो उद्योग आउँदा नेपालमा धागो उद्योग र सिलाई उद्योगले पनि ठूलो अवसर प्राप्त गर्न सक्छ,’ उनले भने,‘बंगलादेशको गार्मेन्ट उद्योग नेपालमा भित्र्याउनु पर्छ भनेर हालसम्म सरकारबाट चासो व्यक्त भएको वा गृहकार्य भएको मैले पाएको छैन् ।’

उनका अनुसार नेपालमा करिब २५ अर्ब रुपैयाँको लगानीमा ज्योति स्पीनिङ्ग, जगदम्बा स्पीनिङ्ग, त्रिवेणी स्पीनिङ्ग र रिलायन्य स्पीनिङ्ग मिल गरी ४ वटा धागो उद्योग सञ्चालनमा छन् । सरकारले गार्मेन्ट लगायत अढाइ दर्जन बस्तु निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरे पनि उपलब्ध गराएको छैन । सरकारले दिन्छु भनेको १ अर्ब ७५ करोड रुपैयाँ नगद अनुदान अहिले पनि नेपाली गार्मेन्ट उद्योगले पाउन सकेका छैनन् ।

४ वटा उद्योगबाट उत्पादन हुने कूल धागोमध्ये ३० प्रतिशत स्वदेशकै बजारमा बिक्री हुन्छ भने बाँकी ७० प्रतिशत भारत र टर्कीमा निर्यात हुँदै आएको छ । गार्मेन्ट उद्योग नेपालमा भित्र्यान पाए नेपालमै यस्तो धागो ७० प्रतिशतसम्म खपत हुन सक्ने अग्रवालको भनाइ छ ।

यस्ता गार्मेन्ट उद्योगबाट स्थानीयको मागका साथै अन्तर्राष्ट्रिय बजारअनुसार पनि तयारी पोशाक उत्पादन हुन सक्छ । यसले गर्दा स्वदेशी बजारको माग पुरा गर्दै ठूलो परिमाणमा निर्यात गरेर नेपालमा भएको व्यापार घाटाको ठूलो खाडललाई पुर्न सहयोग गर्ने अग्रवालले बताए ।

‘बंगलादेशको गार्मेन्ट उद्योगलाई रेड कार्पेट ओछ्याएर हामीले वेलकम गर्छौ भने कम्तिमा १० लाख जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सक्छौं, बंगलादेशको एउटा सानो उद्योगमा कम्तिमा ५ हजारसम्मको जनसंख्याले रोजगारी प्राप्त गरेका छन्,’ अग्रवालले भने ।

यसबाहेक ठूलो परिमाणमा तयारी पोशाक निर्यात गरेर नेपालले वैदेशिक मुद्रासमेत आर्जन गर्न सक्ने उनको भनाई छ ।

थप्दै उनले भने,‘बंगलादेशले उत्पादन गर्दा, कच्चा पदार्थ आयात गर्दा, त्यस्ता उद्योगको हकमा त्यहाँको सरकारले लिएको बैंकको ऋण र ब्याजदरको संरचना, निर्यात प्रक्रियालगायतमा लिएको नीतिअनुसार नेपालले पनि कहाँ कुन स्थानमा म्याच गर्नुपर्ने नीति लिनुपर्छ त्यस्तो व्यवस्था मिलाउनु पर्छ ।’

उनले नेपालको गार्मेन्ट उद्योग संघ, नेपाल उद्योग वाणिज्य महासंघ र आपूर्ति मन्त्रालयको प्रतिनिधि सम्मिलित एउटा शक्तिशाली कार्यदल बनाएर तत्कालै गृहकार्य सुरु गर्नुपर्ने मागसमेत सरकारसँग गरे ।

मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भने औपचारिक र कुटनीतिक च्यानलबाट बिषयवस्तु नआएकाले त्यो बिषयमा आवश्यक प्रक्रिया अघि नबढेको दाबी गरे ।

‘औपचारिक र कूटनीतिक च्यानलमार्फत जानकारी नआउँदा हाम्रोतर्फबाट कुनै पनि प्रक्रिया अघि बढेको छैन,’ क्लिकमान्डुसँग अधिकारीले भने,‘साँच्चै नै उनीहरु बजारसहित वैदेशिक लगानी लिएर नेपालमा आउनै चाहेका छन भने सहजिकरण गर्न हामी तयार छौं, हामी वेलकम गर्न तत्पर छौं ।’

बंगलादेशमा हाल सञ्चालनमा रहेका तयारी पोशाक र जुत्ताको उद्योगमा करिब २५ प्रतिशत भारतीय लगानीकर्ता छन् भने केही चिनियाँ लगानीकर्ता छन् ।

बंगलादेशमा रहेका विदेशी लगानीकर्ताहरु विशेषगरी तयारी पोशाक र जुत्तासम्बन्धी उद्योगहरु आफ्ना प्लान्टका केही हिस्सासहित सिफ्ट गर्न खोजेका छन् ।

त्यसैक्रममा बंगलादेशमा उत्पादन गर्न समस्या भएकाले केही उद्योगीहरु नेपालको उद्योगलाई आफ्नो अर्डरअनुसार तयारी पोशाक तयार पारिदिन अर्डर समेत दिन पनि सम्पर्कमा आइरहेका छन् ।

चीनमा कामदारवापत लाग्ने खर्च निक्कै महँगो भएकाले उनीहरुको प्राथमिकतामा चीन नपरेको बताउँदै अहिलेसम्म करिब ६ वटा बंगलादेशी उद्योगीहरु संघको सम्पर्कमा आएका छन् ।

यसमध्ये अधिकांश चिनियाँ लगानीकर्ता छन् । बंगलादेशमा चिनियाँ लगानीमा सञ्चालित उद्योगका लगानीकर्ता संघको सम्पर्कमा आएको पाण्डेले बताए ।

‘उनीहरु सम्पर्कमा आएपनि हाम्रोमा त्यस्ता उद्योग ल्याउन धेरै समस्या छ । हाम्रो र बंगलादेशको निर्यात नीति ठिक उल्टो छ । हाम्रोमा निर्यात नीति नमिलेका कारण त्यस्ता उद्योगलाई सिफ्ट हुन कठिनाइ छ । बंगलादेशले निर्यातमा स्वचालित अनुदान उपलब्ध गराएको छ,’ पाण्डेले भने ।

माओवादी द्वन्द्वअघि नेपालमा पनि तयारी पोशाक र गार्मेन्ट उद्योग फस्टाएको थियो । तर, माओवादी द्वन्द्वका कारण गार्मेन्ट उद्योग धरासायी हुन पुग्यो ।

नेपालपछि बंगलादेशमा सुरु भएको गार्मेन्ट उद्योग अहिले विश्वभर ख्यातिप्राप्त गरेको छ । बंगलादेशबाट सिफ्ट हुन लागेका व्यवसायीलाई आकर्षित गर्न सके नेपाललाई ठूलो लाभ मिल्ने देखिन्छ ।

दुई दशकअघि नेपालमा १ हजार २ सयको संख्यामा कपडा गार्मेन्ट उद्योग सञ्चालनमा थिए । ६ अर्ब लगानीका ती उद्योगले ४ लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका थिए । तर, पछिल्लो समय करीब ३ दर्जन मात्र सञ्चालनमा छन् । यी पनि धरासायी अवस्थामा चलिरहेका छन् ।

‘सन् २००१/२००२ मा नेपालबाट ३८ करोड डलर मूल्य बराबरको तयारी पोशाक निर्यात हुने गथ्र्यो,’ पाण्डेले भने,‘पछिल्लो समय मुस्किलले ५–६ करोड डलरको मात्र निर्यात हुने गरेको छ ।’

सरकारले लिएको नीतिका कारण नेपाली गार्मेट उद्योगको विकास हुन नसकेको उद्योगीहरु बताउँछन् । विगतमा विदेशी व्यवसायीहरुले नेपालमा गार्मेट उद्योगका क्षेत्रमा लगानी गर्न इच्छा देखाए पनि पछि नेपाल सरकारको नीतिले उपयुक्त स्थान नदिएकाले उनीहरु फर्किनु परेको थियो ।

नेपालले गार्मन्ट उद्योगमा बाल श्रमिकको प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भएपछि नेपाली गार्मेन्ट धाराशायी भएका थिए । नेपालमा गार्मेन्ट उद्योगहरु बन्द भएपछि गार्मेन्टको अन्तर्राष्ट्रिय बजारमा बंगलादेशले बलियो उपस्थिति जनाएको थियो ।

बंगलादेशमा उत्पादन हुने तयारी पोशाकको मुख्य खरिदकर्ता अमेरिका, बेलायत र युरोपीय मुलुक हुन् । उनीहरुको एउटा उद्योगबाट एक बर्षमै ४ अर्ब रुपैयाँबराबरको गार्मेन्ट उत्पादन हुन्छ । सन् २०२३ मा बंगलादेशले ६२ खर्ब ९१ अर्ब नेपाली रुपैयाँबराबरको तयारी पोशाक विभिन्न मुलुकमा निर्यात गरेको थियो । बंगलादेशले आर्जन गर्ने कूल वैदेशिक मुद्रामध्ये ८५ प्रतिशत तयारी पोशाकबाट आर्जन गर्दै आएको छ ।

बंगलादेशले गत वर्ष ४७ अर्ब डलरको गार्मेन्ट अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेको थियो ।


राजेश बर्मा