कतार एयरको लापरबाहीले नेपाल आउने पर्यटक हैरान: उडान रद्द गर्छ तर अर्को टिकट दिँदैन
काठमाडौं विमानस्थलमै कतार एयरवेजले उडान रद्द गरेपछि अर्को टिकट दिँदैन । दिए पनि अत्यधिक महंगो पर्छ । या त महिनौंपछि मात्रै अर्को उडान पाइन्छ । र अर्को उडान अवधिभर होटल बसाइको खर्च पनि व्यहोर्दैन । यस्तो लापरबाहीबाट पर्यटकहरुले काठमाडौंमा सास्ती झेल्नु परेको छ ।
काठमाडौं । काठमाडौंबाट उडानका लागि कतार एयरवेजको टिकट लिएका दुई बेलायती पर्यटकले आफ्नो उडान रद्द भएपछि अर्को टिकटका लागि हजारौं पाउन्ड खर्च गर्नुपरेको छ ।
केही समययता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा निर्माणको लागि रातिको समयमा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भइरहेका छन् ।
जसले गर्दा केही महिनादेखि यात्रुहरुलाई कम सामान ल्याउन आग्रह गरिएको छ । थुप्रै एयरलाइन कम्पनीहरुले उडान रद्द हुनासाथ अर्को मितिका लागि स्वत वैकल्पिक टिकेट बुक गराउँछन् । तर कतार एयरवेजले आफ्ना यात्रुका लागि गरेको व्यवहार अनौठो छ । जसले उडान रद्द भएपछि यात्रुलाई इमेल पठाउँदै लेख्यो-तपाईँले टिकटको रकम फिर्ता पाउन वा वैकल्पिक उडान परिवर्तन विकल्पको लागि हामीलाई सोध्न सक्नुहुन्छ ।’
अप्ठ्यारो के भयो भने एयरलाइन्सको इमेल त्यतिबेला मात्रै उनले मुस्किलले पढ्न पाए जतिबेला उनी हिमालको कठिन यात्रामा फसिरहेका थिए । बेलायती दुई यात्रुहरु ४० वर्षीया लउरा मर्फी र ३९ वर्षीय रे वेब थिए । ग्रेट हिमालयन ट्रेलको यात्राको क्रममा यो जोडी एक महिनाको लागि पूर्वी नेपालको हिमालतिर पुगेको थियो । नोभेम्बर ११ मा जब उनीहरु तुम्लिङटार बजार आइपुगे र अनलाइनको पहुँच पाएपछि आफ्नो उडान चेक गर्न थाले: काठमाडौं-दोहा-लन्डन ।
तर उनीहरुले कतार एयरवेजबाट जवाफ पाए:तपाईँको उडा रद्द भइसकेको छ । त्यति मात्रै नभएर एयरलाइन्सले भन्यो-काठमाडौंबाट उड्ने कतार एयरवेजको जहाजमा कम्तीमा एक सातासम्म एउटा पनि सिट खाली छैन । उनीहरुले अरु कुनै विकल्प छ कि भनेर पनि खोजे । विडम्वना कतारका लागि अरु कुनै उडान उपलब्ध थिएन ।
‘हामीले जब उडान खोज्ने प्रयास गरिरहेका थियौं हामी काठमाडौंमा थप अरु दिन बस्नुपर्ने भयो,’ मर्फीले भनिन्, ‘यस्तो भयो कि काठमाडौं छोड्नका लागि हामीले कठिन संघर्ष गर्नुपर्यो । हामीले भारत, चीन थाइल्यान्ड भएर उड्न मिल्छ कि भनेर पनि हेर्यौं।’
तर उडानको मूल्य तीब्र रुपमा अत्यधिक बढिरहेको थियो । यति महंगो कि लन्डन फर्किनका लागि एउटै टिकटको मूल्य २ हजारदेखि ३ हजार पाउन्डसम्म पुगेको मर्फी बताउँछिन् । यस्तो समस्याका बीच मर्फी र वेबले भारत पुगेर लन्डका लागि अर्को उडान भेटाउने तयारी गर्न थाले । तर काठमाडौंबाट भारत जान उनीहरुलाई ईभिसा आवश्यक पर्थ्यो । र यसका लागि अर्को समस्या के भने आवेदन दिएपछि कम्तीमा पाँच दिन पर्खनु पर्ने मापदन्ड उनीहरुले थाहा पाए ।
अन्तत: बेलायती जोडी १ हजार ३ सय डलर खर्च गरेर काठमाडौंबाट मलेसियाको ४ घन्टाको उडान गर्न बाध्य भए । त्यसपछि मात्रै उनीहरु १३ घन्टाको लामो यात्रा गरेर लन्डनको हेथ्रो विमानस्थल फर्किएका थिए । त्यसबीचमा जति समय उडान पर्खनुपरेको थियो त्यो सबै हटेल बसाइ र खानाको खर्च पनि उनीहरु आफैंले गर्नुपर्यो ।
कतार एयरवेजको लापरबाहीले गर्दा मर्फीलाई यो कठिन यात्राले निकै झट्का दिइरहेको छ । उनीहरुले आफ्नो उडान सुरक्षित गर्न आवश्यकभन्दा धेरै रकम तिर्नुपरेको थियो । ‘हाम्रो यात्रालाई थप सुरक्षित बनाउन हामीले कतार एयरवेजलाई थप रकम तिर्ने निर्णय गर्यौं । मलाई विश्वास थियो कि कतार एयरवेज ज्यादै भरपर्दो र प्रतिष्ठित थियो । यदि यस्तो केही समस्या भए हामीलाई राम्रो साथ र समन्वय होला भनेर पनि यसमाथि मेरो विश्वास थियो,’ मर्फीले भनिन्, ‘यस्तो अवस्थामा अब म यो एयरवेज प्रयोग गर्ने छैन ।’
यसवाहेक काठमाडौंबाट कतार एयरवेजकै टिकट लिएका अर्का एक यात्रुले पनि उडानका लागि हप्तौंसम्म पर्खनुपरेको सुनाए । इन्टरनेसनल सोसाइटी अफ माउन्टेन मेडिसिनका अध्यक्ष तथा प्राध्यापक जर्ज रोडवे पनि पूर्वी नेपालको लुम्बासुम्बा पदयात्रा सकेर काठमाडौं फर्किएका थिए । उनले नोभेम्बर १४ का लागि काठमाडौंदेखि दोहाको उडानका लागि कतार एयरवेजकै टिकट लिएका थिए ।
तर जब अनलाइनमा उनले आफ्नो उडान चेक गर्ने बेला मात्रै थाहा पाए कि उनको पनि उडान रद्द भइसकेको थियो । ‘तर उनीहरुले डिसेम्बर २ भन्दा पहिले मेरो अर्को उडान पुन:बुक गरिदिएनन् । र काठमाडौं बसाइ र खानाको लागि पनि खर्च दिएनन् । त्यसैले म आफ्नै खर्चमा टर्किस एयरलाइन्सको टिकट लिएर नोभेम्बर १७ मा जानुपर्यो,’ प्राध्यापक जर्जले भने ।
अन्तत: जर्ज पनि पाँच दिनपछि टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै अमेरिकाको ओरेगोन फर्किए । त्यसबीचमा उनले काठमाडौंमा होटेल बसाइको क्रममा २१० डलर खर्च गर्नुका साथै नयाँ टिकटका लागि १ हजार ८ सय अमेरिकी डलर खर्च गर्नुपरेको सुनाए । तर कतार एयरवेजले भने ७५० डलर कटौती गरेर मात्रै थप रकम फिर्ता दिएको उनी बताउँछन् । यसरी प्राध्यापक रोडवेको आफ्नै खल्तीबाट थप १ हजार २६० डलर अतिरिक्त खर्च भयो ।
एउटा एयरलाइन्स कम्पनीको लापरबाहीका कारण यी विदेशी पर्यटकहरुले पाएको हैरानीको क्षतिपू्र्ति त दिन सकेको छैन नै । न त उनीहरुको हैरानीमा सहानुभुति देखायो न त अतिरिक्त खर्च पनि भुक्तानी नै गर्यो ।
तर यस्तो घटनापछि कतार एयरवेजका प्रवक्ताले भनेका छन्, ‘विभिन्न निर्माण सम्बन्धी कारणले कतार एयरवेजले काठमाडौंको दैनिक उडान संख्या कम गरेको छ । प्रभावित यात्रुहरुलाई समायोजन गर्न हामीले गौतम बुद्ध विमानस्थल भैरहवा हुँदै दोहादेखि काठमाडौंसम्म अस्थायी दैनिक एउटा उडान सुरु गरेका छौं।’
यस्तै काठमाडौंदेखि दोहा उडान ननस्टप रहेको भन्दै प्रभावित ग्राहकलाई अग्रिम सूचित गरेको र वैकल्पिक व्यवस्थाका लागि पनि ग्राहकलाई च्याट वा फोनमार्फत सम्पर्क गर्न आग्रह गरेको कतार एयरवेजको दाबी छ ।
-इन्डिपेन्डेन्टबाट