टिकटकका संस्थापक बने चीनको सर्वाधिक धनी व्यक्ति



एजेन्सी । टिकटकका एक संस्थापक झाङ यिमिङ चीनकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । गत वर्षको भन्दा ४३ प्रतिशतले सम्पत्ति वृद्धि भएर झाङको कुल सम्पत्ति ४९ अर्ब ३० करोड अमेरिकी डलर पुगेको धनीहरुको सूची सार्वजनिक गर्ने हुरुन रिसर्च इन्स्टच्युटले उल्लेख गरेको छ ।

४१ वर्षीय झाङ २०२१ मा कम्पनीको इन्चार्जबाट मुक्त भए पनि कम्पनीमा उनक २ प्रतिशत लगानी छ । विश्वका कतिपय देशहरुमा प्रतिबन्धका बावजुद टिकटक विश्वभर सर्वाधिक लोकप्रिय सोसल मिडिया एपको रुपमा स्थापित रहँदै आएको छ । सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले भने बाइटडान्सले टिकटक विक्री नगरे २०२५ को जनवरीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

थुप्रै दबाबका बावजुद विश्वव्यापी रुपमा बाइट डान्सको नाफा गत वर्ष ६० प्रतिशतले वृद्धि भएको थियो । जसले गर्दा यसका सहसंस्थापक झाङ यिमिङको व्यक्तिगत सम्पत्तिमा पनि व्यापक वृद्धि भएको हो । चीनमा पछिल्लो २६ वर्षको अवधिमा झाङ १८औं धनी व्यक्तिको रुपमा थिए ।

टिकटकको लोकप्रियता बढेसँगै यसले चिनियाँ अर्थतन्त्रको गतिशीलता बढाएको संकेत देखाएको पनि बताइन्छ । यद्यपि चीनबाट प्रविधि क्षेत्रको प्रतिनिधित्व गर्ने झाङ मात्रै एक्लो धनी उद्यमी हैनन् । उनीसँगै पोनी मा तेस्रो धनी व्यक्तिको रुपमा छन् ।


क्लिकमान्डु