तिहारको भाइमसला: गत वर्षभन्दा २५% सम्म महँगो, कुनको मूल्य कति ?
काठमाडौं । तिहार नजिकिएसँगै बजारमा भाइमसलाले पनि बजार तताइसकेको छ । प्रमुख चोकदेखि गल्लीसम्म अहिले भाइमसलामा प्रयोग हुने ड्राइफ्रुटको बग्रेल्ती अस्थायी पसल थापेर बिक्री हुन थालेको छ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भाइमसलामा प्रयोग हुने विभिन्न प्रकारको ड्राइफ्रुटको मूल्य बढेकाले गत वर्षको तुलनामा १० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ ।
संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार यो वर्ष बजारमा काजुको आकार र गुणस्तरअनुसार प्रतिकिलो २२ सयदेखि २५ सयसम्म मूल्य तोकिएको छ । यस्तै किसमिसलाई ६ सयदेखि ७ सय रुपैयाँ, आलमण्ड(बदाम) लाई १६ सयदेखि १७ सयसम्म, छोकडालाई ५ सयदेखि ५ सय ५०, पेस्ता २ हजारदेखि २२ सय र नरिवललाई ६ सयदेखि ७ सयसम्म प्रतिकिलो मूल्य तोकिएको छ ।
बाटोघाटोको असुविधाका कारण गत वर्षको तुलनामा काजुमा २५ प्रतिशतसम्म मूल्य बढेको छ । यस्तै आलमण्ड (बदाम) मा २० प्रतिशत र अन्यमा १० प्रतिशतले मूल्य बढेको छ ।
बज्राचार्यका अनुसार वर्षभर कारोबार हुने ड्राइफ्रुटको व्यापारमध्ये तिहारदेखि भाइटिकासम्म ८० प्रतिशतले हुन्छ । बाँकी २० प्रतिशत वर्षभर कारोबार हुन्छ ।
भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक बर्षको ३ महिना (साउनदेखि असोज) को अवधीमा १ अर्ब ५२ करोड ६४ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख २९ हजार ९ सय ६३ किलो ड्राई फ्रुट विभिन्न मुलुकबाट आयात भएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ७२ करोड ७ लाख रुपैयाँबराबरको २ करोड २ लाख २४ हजार ८ सय ५३ किलो आयात भएको थियो ।