सरकारले सय दिनमा सुशासनको पक्षमा काम गर्न सकेन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल मिलेर सरकार बनाएपनि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताए ।
अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता मात्रै रहेको बताउदै उनले सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न नसकेको जानकारी दिए ।
सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने उनको भनाई छ । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।
कोइरालाले अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केहि क्रियाकलापले सरकार फरक ढङ्गले हिँड्न खोजेको हो कि भन्ने आभास भएको उनको भनाइ छ ।