गल्ती गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ: नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई आफूहरुले क्लिन चिट नदिएको बताएका छन् ।

बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठूलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने बताए । उनले आफूहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने बताए । तर सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरुलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको आरोप लगाए ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित कतिपय नेताहरुले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको दाबी गरिरहँदा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरुले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिए ।

त्यस्तै श्रेष्ठले अहिले विपत्तिका बेला सबै राजनैतिक दलहरु मिलेर जनतालाई राहत, उद्धार र पुनर्स्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गर्दै नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताएका थिए ।


क्लिकमान्डु