रास्वपा प्रदर्शनकारी हटाउन पानीको फोहोरासँगै अश्रु ग्यास प्रहार



पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्तालाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपा नेता कार्यकर्ता पोखरामा भेला भएका हुन् ।

प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि देखि रास्वपाका नेता कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहेको थियो ।

तर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेसँगै प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो । पानीको फोहोरा हान्दा पनि प्रदर्शनकारीले नछाडेपछि प्रहरीले अश्रु ग्यास हानेको हो ।

प्रहरीसँग प्रदर्शनकारीको धकेलाधकेल भए पनि उनीहरु हट्न नमानेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न खोजेको थियो ।

सहकारी पीडित र रास्वपाका समर्थकबीच मुठभेड हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ भने सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

तस्बिर : युवराज भट्टराई/क्लिकमान्डु


दिनेश खड्का