सरकार जनआकांक्षा अनुसार चलेको छैन: कांग्रेस नेता कोइराला



विराटनगर । कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको आकांक्षा अनुसार चल्न नसके पनि तत्काल ढल्ने स्थितिमा नरहको बताएका छन् ।

सरकार ढल्छ र चलखेल गरौँला भन्ने सपना नदेख्न पनि विपक्षी दलहरूलाई उनले सुझाव दिएका थिए । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्दै कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको दाबी गरे । र आगामी निर्वाचनसम्म नै कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताए ।

सरकारले उद्देश्य अनुरुप कार्य भने गर्न नसकेको स्वीकार गर्दै कोइरालाले यो सरकार नढल्ने जिकिर गरे । तर यो सरकार सरकार जस्तो भएर नचलेको कोइरालाको ठहर थियो ।

‘गाडीमा झण्डा हल्लाउँदै हिंड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन । उनले भने मन्त्रीहरूले इमान्दारीपूर्वक काम गरेर जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’ तर सरकारले जनतालाई त्यो विश्वास दिलाउन नसकेको उनको गुनासो थियो ।

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए । उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन । तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो त्यस अनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैन जस्तो लाग्दछ ।’

त्यस्तै कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा उनको सुझाव थियो ।

मन्तव्यको क्रममा नेता दाहालले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।


क्लिकमान्डु