हिरासतमा रविः कसैलाई नभेट्ने, श्रीमती र पार्टीका शीर्ष नेतासँग भने सम्पर्कमा



पोखरा । सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोही दिन साँझ पोखरा ल्याइएको छ ।

काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सडकमार्गबाट शुक्रबार पोखरा ल्याएपछि हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । आज (शनिबार) सार्वजनिक विदा भएकाले प्रहरीले भोलि (आइतबार) उनलाई अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थप गर्दै छ ।

प्रहरी स्रोतकाअनुसार हिरासतमा रहिरहँदा लामिछानेले सकेसम्म कसैलाई भेट्न खोजेका छैनन् । क्लिकमान्डूकर्मी कास्की जिल्ला प्रहरी कार्यालयमा पुग्दा लामिछानेलाई भेट्नका लागि केही व्यक्तिहरु आएका थिए । हेम्जास्थित रास्वपा पार्टी कार्यालयबाट भन्दै लामिछानेलाई भेट्न एक व्यक्तिले प्रहरीलाई भनिरहँदा लामिछानेले भने उनलाई तत्काल नभेट्ने भन्दै प्रहरीमार्फत बताएका थिए ।

लामिछाने संलग्न ठानिएको सहकारी ठगी प्रकरणको विषयमा कास्की जिल्ला प्रहरीमार्फत भइरहेको अनुसन्धानमा आवद्ध प्रहरी अधिकारीले भने, ‘उहाँलाई भेट्न भनेर केही मान्छेहरु आइरहेका छन् । तर, उहाँले कसैलाई पनि भेट्न खोज्नु भएको छैन । हामीले कागजमा नाम लेख्दै पठाउँदा अहिले नभेट्ने भन्दै जवाफ दिनु भएको छ ।’

हिरासतमा रहेका लामिछाने रास्वपाका शीर्ष नेता तथा उनकी श्रीमती निकिता पौडेलसँग भने सम्पर्कमा रहेको ती अधिकारीले जनाए । उनले भने, ‘उहाँ श्रीमती र पार्टीका केही मात्र शीर्ष नेताहरुसँग सम्पर्कमा हुनुहुन्छ । अन्य भेट्न आउनेहरुलाई अहिले भेट्न खोज्नु भएको छैन ।’

लामिछानेलाई शुक्रबार पक्राउ गरेसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकले विभिन्न ठाउँमा आन्दोलनमा उत्रिएका छन । पोखरामा पनि जिल्ला प्रहरी कार्यालयको बाहिर शनिबार दिउँसो केही समय आन्दोलन तथा रविको समर्थनमा नाराबाजी भएको थियो ।

प्रहरीले उनलाई आइतबार जिल्ला अदालत कास्कीमा पेश गराएर अनुसन्धानका लागि म्याद थप गर्ने प्रहरी स्रोतले जनाएको छ । स्रोतकाअनुसार आइतबार जुनसुकै बेला पनि उनलाई अदालतमा लैजान सकिने र सकेसम्म कम्तीमा १० दिन थप गरेर अनुसन्धानका लागि समय माग्ने तयारी रहेको छ ।

लामिछानेसहित अन्य विरुद्धमा सरकारले यसअघि ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेर सहकारी ठगीका विषयमा अनुसन्धान गरेको थियो । नेकपा एमाले संसाद सूर्य थापाको संयोजकत्वमा गठन भएको उक्त समितिले ९९ दिनको अध्ययन पछि तयार गरेको प्रतिवेदनमा लामिछानेसहित जिबि राई, छविराज जोशी, कुमार रम्तेललगायतले भूमिका खेलेर ५ सहकारीबाट बचतकर्ताको ६५ करोड ५४ लाख रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको उल्लेख गरिएको थियो ।

सरकारले उक्त प्रतिवेदन कर्यान्यवन गर्ने भनेको केही सातामै लामिछाने पक्राउ परेका हुन् ।

प्रहरी लामिछानेविरुद्ध ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दाुमा अनुसन्धानका लागि पक्राउ गरेको हो । जसमा उनीसँगै अन्य आरोपित विरुद्ध पोखराको सूर्यदर्शनसमेतका ६ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप लगाइएको छ ।


दिनेश खड्का