भैरहवामा कात्तिक १२ पछि जजिरा र फ्लाइ दुबईको नियमित उडान, एयर एसिया र एयर अरेविया तयारीमा




काठमाडौं । लामो समयको कसरतपछि अन्ततः विदेशी वायुसेवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे २३ कात्तिक (८ नोभेम्बर))बाट मर्मत गरिने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलबाट उडान गर्न विदेशी वायुसेवालाई आग्रह गर्दै आएको थियो ।

प्राधिकरणको आग्रह र ट्याक्सी वे मर्मतका क्रममा काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएपछि बाध्य भएर विदेशी वायुसेवाले पहिलोपटक काठमाडौं बाहिर नियमित उडान गर्न तयार भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार २७ सेप्टेम्बर (११ कात्तिक)बाट सुरु हुने विन्टर सिजनदेखि विदेशी वायुसेवा काठमाडौं बाहिरबाट उडान गर्न तयार हुँदै धमाधम अनुमति लिन थालेका छन् ।

हालसम्म कुवेतबाट आउने जजीरा एयरलाइन्स र संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट आउने फ्लाई दुबईले भैरहवामा विमानस्थलमा नियमित उडान गर्ने तय भएको छ । कुवेतबाट आउने जजीरा एयरलाइन्सले १२ कात्तिकदेखि सातामा तीन वटा उडान गर्ने भएको छ ।

यो वायुसेवाले मंगलबार, विहीबार र शनिबार विहान साढे ७ बजे कुवेतबाट भैरहवा अवतरण गर्ने छ । भैरहवाबाट साढे ८ बजे कुवेत फर्कने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको यो वायुसेवाले टिकेटिङसमेत गरिरहेको छ ।
दुबईबाट आउने फ्लाई दुबई भने नेपालमै पहिलोपटक (आठौं ट्राफिक स्वतन्त्रता) एटफ्रिडमसहित उडान गर्ने छ । एउटा देशको वायुसेवा अर्को देशमा गएर एउटा विमानस्थलबाट अर्को विमानस्थलमा उडान गर्नुलाई उड्डयन क्षेत्रमा एटफ्रिडम भनिन्छ ।

यही एट फ्रिडम पाएर फ्लाई दुबई दुबईबाट दिउँसो १ः४५ मा भैरहवा विमानस्थलमा अवतरण गर्ने गरेर काठमाडौं विमानस्थलमा ३ः३० मा अवतरण गर्ने छ । काठमाडौंमा यात्रु ओराल्ने र राख्ने गरेर यो वायुसेवा काठमाडौंबाट साढे ४ बजे दुबईका लागि उड्ने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यो वायुेवाले आगामी नोभेम्बर ९ (कात्तिक २४)बाट दुबई–भैरहवा–काठमाडौं–दुबई गन्तव्यमा दैनिक एक उडान गर्ने भएको छ ।

जजीरा र फ्लाई दुबईले भैरहवा उडान गर्ने तय भइसकेको छ भने अरु वायुसेवाले पनि तयारी गरिरहेका छन । थाई एयर एयसियाले अक्टोबर २ (१६ असोज)बाट काठमाडौंमा नियमित उडान सुरु गर्दै भैरहवाबाट पनि सातामा ४ वटा उडान गर्ने प्रतिवद्धता जनाएको छ ।

यो वायुुसेवाले आगामी विन्टर सिजन सुरु हुन अगाडि २७ अक्टोबर (११ कात्तिक)भित्रमा भैरहवा उडान गर्ने तालिका पेश गर्ने भएको छ । थाई एयर एसियाले ४ वटा काठमाडौं र ४ वटा उडान भैरहवा विमानस्थलबाट गर्ने गरी प्राधिकरणबाट उडान अनुमति पाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवा विमानस्थलमा हरेक मंगलबार उडान गर्दै आएको छ । यो वायुसेवा सोमबार काठमाडौंबाट मलेसिया जान्छ । सो जहाज मंगलबार मलेसियाबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ ।

एयर अरेबियाले पनि भैरहवाबाट उडान गर्न आन्तरिक तयारी गरिरहेको छ । यो वायुेवाले भने प्राधिकरणसमक्ष उडान तालिका पेश भने गरिसकेको छैन । काठमाडौं विमानस्थलको चाप घटाउने क्रममा अरु अन्तर्राष्ट्रिय उडानका वायुसेवाले समेत योजना र उडान तालिका पेश गर्ने क्रम जारी रहेकोले थप वायुसेवाले काठमाडौं बाहिरको विमानस्थलबाट सेवा दिने भएको प्राधिरकणको भनाइ छ ।

नेपालको अर्को अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भने केही समय भैरहवा विमास्थलबाट उडान गरिसकेको छ । यो वायुसेवाले भने फेरि भैरहवा विमानस्थलबाट उडान गर्न सकारात्मक भएको बताएपनि नयाँ उडान तालिका भने आएको छैन ।

पोखरामा भने कुनै पनि वायुसेवाले रुची देखाएनन्

काठमाडौं विमानस्थलको चाप घटाउन भैरहवा विमानस्थलमा उडान गर्न केही विदेशी वायुसेवा तयार भएपनि पोखरा विमानस्थलबाट हुने उडान अवतरणमा भने कुनै पनि विदेशी वायुसेवाले चासो देखाएका छैनन् ।

पोखरा विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्नै लागिसकेको भएपनि यसबाट भने हालसम्म कुनै पनि वायुसेवाले नियमित अन्तर्राष्ट्रय उडान राखेको छैनन् ।


क्लिकमान्डु