भारतमा ताइवानले कार्यालय खोल्दा चीनको विरोध, ‘ताइवान चीनकै अभिन्न अंग हो, कसैले वार्ता नगरोस्’



एजेन्सी । भारतको मुम्बइमा ताइवानको नयाँ कार्यालय खोलिएको विषयमा चीनले आपत्ति जनाएको छ । भारतस्थित चिनियाँ राजदूतावासका प्रवक्ता यु जिङले सामाजिक सञ्जाल एक्समार्फत विश्वमा एक चीन रहेको र ताइवान चीनकै एक अभिन्न हिस्सा रहेको प्रतिक्रिया दिएका छन् ।

चिनियाँ राजदूत यु जिङले लेखेका छन्, ‘विश्वमा एउटै चीन छ । र ताइवान चीनको अभिन्न हिस्सा हो । चीन आफूसँग राजनीतिक सम्बन्ध राख्ने कुनै पनि देशहरुसँग ताइवानको आधिकारिक सम्पर्कको कडा विरोध गर्छ । यसमा एकअर्काले कार्यालय खोल्ने विषय पनि पर्छ । हामीले यो विषयलाई भारत समक्ष गम्भीर रुपमा उठाएका छौं।’

यु जिङले एक चीन नीतिको सिद्धान्तमा भारतले पनि आफ्नो प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै यसलाई भारत र चीनको राजनीतिक सम्बन्धको आधारको रुपमा पनि व्याख्या गरेका छन् । राजदूत जिङले भारत सरकारलाई एक चीन नीतिको सिद्धान्त कडा रुपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

साथै यो मुद्दालाई ताइवानसँग मिलेर समाधान गर्न पनि उनको आग्रह छ । ‘भारतसँग चीनले आग्रह गरेको छ कि- भारतले ताइवानसँग सम्बन्धित मुद्दा सही रुपमा समाधान गरोस् । साथै एक चीन नीतिको सिद्धान्तलाई लिएर आफ्नो प्रतिबद्धता कडा रुपमा पालना गरोस् । भारत ताइवानसँग कुनै पनि किसिमको आधिकारिक वार्ता नगरोस् । र चीनसँग सम्बन्धलाई बलियो बनाउने प्रक्रियामा अवरोध नगरोस् ।’

ताइवानका नेताहरुले अमेरिका लगायतका देशहरुसँग स्वतन्त्र रुपमा सम्बन्ध स्थापित गर्न खोजिरहँदा चीनले भने ताइवानलाई आफ्नो क्षेत्राधिकारभित्र रहेको भन्दै आलोचना गर्दैआएको छ । ताइवानलाई चीनले आफ्नै क्षेत्र भने पनि ताइवानले स्वतन्त्र राष्ट्रको अभ्यास गरिरहेको छ ।

सोही अनुरुप पछिल्लो पटक ताइवानले आफ्नो ११३औं राष्ट्रिय दिवसको अवसरमा भारतसँग दुईपक्षीय सम्बन्ध स्थापित गर्न मुम्बइमा तेस्रो कार्यालय स्थापना गरेको हो । कार्यालय स्थापनापछि ताइवानका विदेशमन्त्री चिया लङ लिनले भारतसँग ताइवानको दुईपक्षीय सम्बन्ध स्थापना भएकोमा खुसी व्यक्त गरेका छन् ।

मुम्बइमा स्थापित उक्त कार्यालयले पश्चिमी क्षेत्रका मुख्य प्रान्तहरु महाराष्ट्र, गुजरात, मध्यप्रदेश र गोआको लागि सेवा दिनेछ । उक्त कार्यालयमार्फत् ताइवान र भारतबीच आर्थिक, प्राविधिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा अनुभवहरु आदानप्रदान हुने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु