नोबेल पुरष्कार विजेताको निष्कर्षबाट नेपालले सिक्नुपर्ने पाठ



यस वर्ष २०२४ को अर्थशास्त्रतर्फको नोवेल पुरस्कार संस्थाहरूले कसरी राष्ट्रको सम्मृद्धिलाई असर गर्छ भन्ने विषयमा गरिएको अनुसन्धानलाई प्रदान गरिने भएको छ । सन् २०२४ अक्टोबर ९ मा, अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसीमोग्लु, साइमन जोन्सन तथा जेम्स रोविन्सनलाई संस्थाहरूले कसरी एक राष्ट्रको सम्मृद्धिमा प्रभाव पार्दछन् भन्ने बारेको उनीहरूको ग्राउन्ड ब्रेकिङ अनुसन्धानको लागि प्रदान गरिने घोषणा गरिएको छ ।

यो पुरस्कार भने डिसेम्बर १० मा अल्फ्रेड नोबेलको स्मृति दिवसको दिन बितरण गरिने छ । यस अध्ययनले अर्थशास्त्रको क्षेत्रमा एक नयाँ आयाम थपेको छ र किन विश्वमा केही राष्ट्रहरू समृद्ध हुन्छन् र अन्य राष्ट्रहरू गरिबीमा रहन्छन् भन्ने प्रश्नको जवाफ खोज्न महत्वपूर्ण योगदान पुर्याएको छ । यी तीन अर्थशास्त्रीहरूको मुख्य तर्क नै संस्थाहरू नै एक राष्ट्रको दीर्घकालीन समृद्धिको निर्धारण गर्ने प्रमुख कारक हुन्  भन्ने हो। संस्थाहरू भनेको त्यस्ता नियम, कानुन र सामाजिक मान्यताहरू हुन् जसले आर्थिक र समाजिक अन्तरक्रियालाई निर्देशित गर्छन् । उनीहरूले देशको समृद्धि तय गर्ने दुई प्रकारका संस्थाहरूको पहिचान गरेका छन्। 

समावेशी संस्थाहरू: समृद्धिको कुञ्जी

समावेशी सस्थाहरूः यी संस्थाहरूले समान अवसर, सुरक्षित सम्पत्तिको अधिकार र आर्थिक गतिविधिमा व्यापक सहभागितालाई प्रोत्साहन गर्छन् । यसले नयाँपन, उद्यमशीलता र लगानीलाई बढावा दिई आर्थिक वृद्धि ल्याउँछ भन्ने उनीहरूको तर्क रहेको छ । उदाहरणः स्क्यान्डिनेभियन देशहरूः स्विडेन, नर्वे, डेनमार्क जस्ता देशहरूमा उच्चस्तरको सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा जस्ता सुविधाहरू छन् । यसले गर्दा यी देशहरूका जनताको जीवनस्तर उच्च छ र उनीहरु खुसी पनि छन् ।

सिंगापुरको आर्थिक विकास मोडेलः सिंगापुरले विदेशी लगानीलाई प्रोत्साहन गरेर र भ्रष्टाचार नियन्त्रण गरेर आफ्नो अर्थतन्त्रलाई बलियो बनाएको छ । जसले गर्दा सिंगापुर आज विश्वको एक प्रमुख व्यापारिक केन्द्र बन्न सफल भएको छ ।

शोषणकारी संस्थाहरूः समृद्धिको बाधक यस्ता संस्थाहरूले शक्ति र सम्पत्तिलाई एक सानो समुहको हातमा केन्द्रित गर्छन्, जुन प्रायः भ्रष्टाचार, नातावाद र शोषणमार्फत हुन्छ । यसले लगानीलाई निरुत्साहित गर्छ, नयाँपनलाई दबाउँछ र अनिश्चितताको वातावरण सिर्जना गर्छ, जसले आर्थिक विकासमा बाधा पुर्याउँछ ।

अफ्रिकाका केही देशहरूमा जातीय विभाजनः अफ्रिकाका केही देशहरूमा जातीय विभाजनका कारण राजनीतिक अस्थिरता र जातिय द्धन्द्ध छ। जहाँ लगानीको प्रतिफल सुनिश्चित नहुँदा लगानीकर्ताहरु लगानी गर्न डराएका छन् जसले आर्थिक विकासमा बाधा पुर्याएको छ ।

लैंगिक असमानताः धेरै देशहरूमा महिलाहरुलाई पुरुषसरह अवसर प्रदान गरिएको छैन । जसले गर्दा महिलाहरुको क्षमताको पूर्ण उपयोग हुन सकेको छैन र देशको समग्र विकासमा बाधा पुगेको छ ।

संस्थाहरूको देशको आर्थिक वृद्धिमा प्रभाव

उनीहरूको अनुसन्धानले संस्थाहरू र आर्थिक परिणामबीचको कारणत्मक सम्बन्धको लागि ठोस प्रमाण प्रस्तुत गरेकोछ । उनीहरूले ऐतिहासिक घटनाक्रम, अनुभवजन्य डेटा र देशहरु बीचको तुलनात्मक अध्ययन गरेर देखाएकाछन् कि दक्षिण कोरिया, सिंगापुर र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा समावेशी संस्थाहरूले कसरी आर्थिक सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भने उत्तर कोरिया, जिम्बाब्वे र अफ्रिकाका धेरै देशहरूमा शोषणकारी संस्थाहरूले गरिबी र अविकासलाई कायम राखेका छन् । संस्थाहरू भनेका कुनै देशमा व्याप्त नियम, कानुन, सामाजिक मान्यता र राजनीतिक प्रणाली हुन् । यी संस्थाहरूले कसरी काम गर्छन् भन्ने कुरामा देशको आर्थिक वृद्धिदर भर पर्छ ।

कसरी संस्थाहरूले आर्थिक वृद्धिमा प्रभाव पार्छन् ?

लगानीको वातावरण

समावेशी संस्थाहरूः यस्ता संस्थाहरूले लगानीकर्ताहरूलाई सुरक्षित वातावरण प्रदान गर्छन् । जस्तै, बलियो कानूनको शासन, सम्पत्ति अधिकारको सुरक्षा र भ्रष्टाचार नियन्त्रणले लगानीकर्ताहरूलाई आफ्नो लगानी सुरक्षित हुने विश्वास दिलाउँछ ।

शोषणकारी संस्थाहरूः यस्ता संस्थाहरूले लगानीकर्ताहरूलाई अनिश्चितताको वातावरण सिर्जना गर्छन् । जस्तैः भ्रष्टाचार, राजनीतिक अस्थिरता र व्यक्तिगत सम्पत्ति अधिकारको संरक्षण नहुँदा लगानीकर्ताहरूलाई डराउँछन् ।

उद्यमशीलतालाई प्रोत्साहनः

समावेशी संस्थाहरूः यस्ता संस्थाहरूले नयाँ व्यवसायहरू खोल्नका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्छन् । जस्तै, सरल र पारदर्शी नियमहरू, कर प्रणाली र व्यापार अनुमति प्रक्रियाले उद्यमीहरूलाई सहज बनाउँछ ।

शोषणकारी संस्थाहरूः यस्ता संस्थाहरूले उद्यमशीलतालाई दबाउँछन् । जस्तैः भ्रष्टाचार, संरक्षणवाद र ब्युरोक्रेसीले बिभिन्न बहानामा नयाँ व्यवसायहरू खोल्न तथा त्यसलाई चलाई राख्न कठिन बनाउँछ ।

मानव पूँजी विकासः

समावेशी संस्थाहरूः यस्ता संस्थाहरूले शिक्षा, स्वास्थ्य, र तालिममा लगानी गरेर मानव पूँजी विकासलाई प्रोत्साहन गर्छन् । जस्तैः गुणस्तरीय शिक्षाले श्रमशक्तिलाई दक्ष बनाउँछ र उत्पादकत्व बढाउँछ ।

शोषणकारी संस्थाहरूः यस्ता संस्थाहरूले मानव पूँजी विकासलाई कमजोर बनाउँछन् । जस्तै, भेदभाव, असमानता र सीमित पहुँचले मानिसहरूको क्षमतालाई विकास हुन दिँदैन।

प्रविधि अवलम्बनः समावेशी संस्थाहरूः यस्ता संस्थाहरूले नयाँ प्रविधिहरू अवलम्बन गर्न प्रोत्साहित गर्छन् । जस्तैः इन्टरनेटको पहुँच, सूचनाको हक र अनुसन्धान र विकासमा लगानीले प्रविधि विकासलाई बढावा दिन्छ।

शोषणकारी संस्थाहरूः यस्ता संस्थाहरूले प्रविधि अवलम्बनलाई बाधा पु‍र्याउँछन् । जस्तैः बन्दसूचना नीति, प्रविधिमा पहुँचको सीमितता र बौद्धिक सम्पत्ति संरक्षणको अभावले प्रविधि विकासलाई रोक्छ ।

सामाजिक पूर्वाधारः समावेशी संस्थाहरूः यस्ता संस्थाहरूले सडक, पुल, विद्युत, पानी जस्ता आधारभूत पूर्वाधारहरूको विकासलाई प्रोत्साहन गर्छन् । यसले व्यापार, वाणिज्य र उत्पादनलाई सहज बनाउँछ ।

शोषणकारी संस्थाहरूः यस्ता संस्थाहरूले पूर्वाधार विकासलाई कमजोर बनाउँछन् । जस्तैः भ्रष्टाचार, राजनीतिक अस्थिरता र लगानीको अभावले पूर्वाधार विकासलाई ढिलो बनाउँछ ।

उदाहरणः दक्षिण कोरियाः दक्षिण कोरियाले शिक्षामा लगानी गरेर, उद्यमशीलतालाई प्रोत्साहन गरेर र भ्रष्टाचार नियन्त्रण गरेर आफ्नो अर्थतन्त्रलाई बलियो बनाएको छ । अफ्रिकाका धेरै देशहरूः यी देशहरूमा भ्रष्टाचार, कुशासन र असमानता जस्ता समस्याहरूले गर्दा आर्थिक विकास हुन सकेको छैन । चीनः चीनले खुला बजार अर्थतन्त्र अवलम्बन गरेर र विदेशी लगानीलाई प्रोत्साहन गरेर आफ्नो अर्थतन्त्रलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ ।

नेपाली सन्दर्भमा नेपालको सन्दर्भमा हेर्दा

यस अध्ययनको निष्कर्षलाई नेपाली सन्दर्भमा हेर्दा हामीले हाम्रा संस्थागत संरचनाहरुमा गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ । हाम्रो देशमा भ्रष्टाचार, सममानता र कानुनको शासनको कमजोरी जस्ता समस्याहरुले गर्दा आर्थिक विकासमा बाधा पुगेको छ । हामीले समावेशी संस्थाहरू निर्माण गर्नका लागि नीतिगत सुधारहरु गर्नु पर्ने हुन्छ । तर हाम्रो देशको राजनीतिक अस्थिरताको कारण निर्माणहुने अस्थिर सरकारहरु कुर्सीको खिचातानी र सरकारको गणितको हिसाबमा एकाग्र भएर यो बिषय सोच्नसम्म पनि भ्याउँदैनन् ।

उनीहरूको अध्ययन तथा विष्लेशणले राम्रो शासन र संस्थागत सुधारले आर्थिक विकासलाई प्रवद्र्धन गर्न कस्तो महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरालाई उजागर गरेको छ । उनीहरूको तर्क अनुसार, बलियो लोकतान्त्रिक संस्थाहरु, प्रभावकारी कानुनको शासन र जवाफदेही सरकार भएका देशहरु संस्थाहरुलाई समावेशी बनाउन र समृद्धि हासिल गर्न बढी क्षमता राख्दछन् । अर्कोतर्फ, अधिनायकवादी शासन, भ्रष्टाचार र राजनीतिमा समान सहभागिताको अभाव भएका देशहरु शोषणकारी संस्थाहरुमा फस्ने सम्भावना बढी हुन्छ जसले गरिबी र असमानतालाई कायम राख्दछ ।

नीति निर्माताहरुका लागि प्रभाव

अनुसन्धानका क्रममा प्रयोग भएका बिश्लेषणहरुले नीति निर्माताहरुका लागि स्प्रष्ट मार्ग देखाउने काम गर्दछ । उनीहरूको अनुसन्धानले दिगो आर्थिक विकासका लागि समावेशिता, समानता र कानुनको शासनलाई प्रवद्र्धन गर्ने संस्थागत सुधारमा केन्द्रित हुनुपर्छ भन्ने सुझाव दिन्छ । यसमा भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षा र स्वास्थ्यमा सुधार गर्ने र लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाउने जस्ता कार्यहरु समावेश छन् । जसबाट संस्थाहरूको महत्व बुझेर नीति निर्माताहरुले आर्थिक वृद्धि र आफ्ना नागरिकहरुको जीवनस्तर सुधार गर्न थप प्रभावकारी नीतिहरु बनाउन सक्दछन् ।

सन् २०२४ मा डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स रबिन्सनलाई प्रदान गरिएको नोबेल पुरस्कारले संस्थाहरूले आर्थिक विकासमा खेल्ने महत्वपूर्ण भूमिकामा प्रकाश पारेको छ । उनीहरूको अनुसन्धानले अर्थशास्त्रको क्षेत्रमा एक नयाँ युगको सुरुवात गरेको छ । जसले समृद्धि र गरिबीबीचको अन्तरलाई बुझ्नको लागि अर्थशास्त्रलाई थप एउटा नयाँ ढाँचा प्रदान गरेको छ। (एजेन्सीहरूको सहयोगमा)


क्लिकमान्डु