धरान विवाद: हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर अदालत जाँदै



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उक्त निर्णयविरुद्ध उपमेयर अइन्द्रविक्रम बेघा अदालत जाने तयारी गरेका छन्।

बेलायत जान लागेका साम्पाङले नेपाल नफर्किउन्जेलका लागि वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । जवकि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मेयर वा गाउँपालिका अध्यक्षले ७ दिनभन्दा धेरै कार्यालयमा अनुपस्थित भए उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने प्रावधान छ ।

साम्पाङले भने त्यसलाई बेवास्ता गर्दै वडाध्यक्षलाई जिम्मेवारी दिएपछि धरानका विभिन्न ६ राजनीतिक दलहरुले आपत्ति जनाउँदै विज्ञप्ति समेत जारी गरेका छन् ।

उक्त निर्णय उल्ट्याउन उपमेयर बेघाले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन् । वडाध्यक्ष फागो मेयर साम्पाङको नाता सम्बन्धका व्यक्ति रहेको पनि जनप्रतिनिधिहरुले बताएका छन् ।

यसअघि २०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै उनको सट्टामा वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उक्त मुद्दा उच्च अदालत विराटनगरमा पुगेको थियो । र विराटनगर उच्च अदालतले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

धरानका उपमेयर बेघाले पनि सोही नजिरका आधारमा अदालतमा मुद्दा दायर गर्न लागेका हुन् । उनले अदालतमा गएर निर्णय उल्ट्याउने प्रतिक्रिया दिएका छन् ।

मेयर साम्पाङले सहज हुने भएकाले वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको प्रतिक्रिया दिएका छन् । धरानमा पछिल्लो समय मेयर साम्पाङ र उपमेयर बेघाबीच सार्वजनिक रुपमै विवाद हुँदै आएको छ । बैठकमा पनि मर्यादा कायम नगराएको भन्दै उपमेयर बेघाले साम्पाङविरुद्ध आक्रोश पोख्ने गरेका थिए ।

यसपटक भने कानुनी रुपमा नै मेयरको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका हुन् । उनीसँगै धरानस्थित विभिन्न ६ दलका शीर्ष नेताहरुले मेयरको निर्णयको विरोध गरे । तर ती दलमा कांग्रेस भने सामेल छैन । जवकि वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागो स्यवं कांग्रेसका जनप्रतिनिधि हुन् ।


क्लिकमान्डु