ब्याजदर घट्दा बैंकका ऋणीलाई लाभ, एक वर्ष अघिभन्दा २२ प्रतिशत कम ब्याज तिर्दै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लिने ब्याजदरमा भारी गिरावट आएको छ । एक वर्षको तुलनामा यस्तो ब्याजदर करिब ३ प्रतिशत बिन्दुले कम भएको हो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्त कम्पनीहरुले प्रदान गरेको ऋणमा ग्राहकबाट लिने ब्याजदर निकै घटाएका हुन् ।
हालसम्म प्रवाह भएको कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ९.५२ प्रतिशतमा सिमित भएको छ । नयाँ कर्जाको ब्याजदर भने यो दर भन्दा फरक हुन सक्छ ।
यता विकास बैंकहरुले प्रवाह गरेका सबै कर्जाको भारित औसत ब्याजदर १०.८९ प्रतिशत छ भने वित्त कम्पनीको १२.१४ प्रतिशत रहेको छ । गत आवको भदौमा वाणिज्य बैंकहरुले प्रवाह गरेको सबै कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत थियो भने विकास बैंकहरुको १३.९९ प्रतिशत थियो । वित्त कम्पनीले कर्जा प्रवाहवापत लिएको कर्जाको औसत ब्याजदर भने १४.६८ प्रतिशत रहेको थियो ।
भारित औसत ब्याजदर भन्नाले बैंक वित्तीय संस्थाबाट प्रवाह भइसकेका कर्जाको औसत ब्याजदर जनाउने । यसमा बैंकबाट नयाँ कर्जा लिने दर गणना हुँदैन ।
वाणिज्य बैंकहरुबाट कर्जा लिने ग्राहकको कुरा गर्ने हो भने उनीहरुले अघिल्लो वर्षको भदौमा तिरेको ब्याजभन्दा औसतमा यो भदौमा २२.१५ प्रतिशत कम ब्याज तिरेका छन् । वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशतबाट ९.५२ प्रतिशतमा सिमित हुनुले यही अर्थ दिन्छ ।
यता बैंकहरुमा संकलन भएको निक्षेपको ब्याजदर पनि उस्तै दरले घटेको छ । वाणिज्य बैंकमा रहेको कुल निक्षेपको भारित औसत ब्याजदर एक वर्षको अवधिमा ८.०६ प्रतिशतबाट घटेर ५.५३ प्रतिशत, विकास बैंकको ९.४३ प्रतिशतबाट ६.३१ प्रतिशत र वित्त कम्पनीको १०.२७ प्रतिशतबाट ७.५५ प्रतिशतमा झरेको छ ।
यी सबै औसत ब्याजदर साउनको तुलनामा घटेका हुन् ।
यता नयाँ कर्जा लिनेहरुका लागि आधार दरमा पनि निकै गिरावट आएको छ । वाणिज्य बैंकहरुले भदौमा लिएका औसत आधार दर ७.४९ प्रतिशतमात्र रहेको छ जुन गत आवको भदौको भन्दा २.६५ प्रतिशत बिन्दु कम हो । बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्दछन् ।
साउनमा वाणिज्य बैंकहरुको औसत आधारदर ७.६१ प्रतिशत थियो ।