शान्ति सेनामाथि इजरायलले आक्रमण गरेकोमा नेपालको आपत्ति



काठमाडौं । लेबनानमा रहेका शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले इजरायली आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।

साथै घटनाको अनुसन्धान गर्न र त्यहाँ रहेका शान्ति सेनाको सुरक्षा प्रत्याभूति गराउन पनि नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल)का शान्ति सैनिकमाथि भएको आक्रमणको कडा निन्दा गर्दछ ।

साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्छ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

गत आइतबार लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना जबर्जस्ती प्रवेश गर्दै आक्रमण गरेका थिए । यस्तै सोमबार इजरायली सेनाको आक्रमणबाट ६ जना शान्ति सैनिक घाइते भएका छन् । इजरायलले भने उक्त आक्रमणलाई हिजबुल्लाह लक्षित आक्रमण भनेको छ ।

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको टोली पनि खटिँदै आएको छ । नेपाली सैनिकहरु भने हालसम्म सुरक्षित रहेको बताइएको छ ।

इजरायल र लेबनानबीचको द्वन्द्वले सिंगो मध्यपूर्व अशान्त बनिरहेको छ । हालै राष्ट्रसंघीय सदस्य राष्ट्रहरुले त्यहाँको द्वन्द्व रोक्न र अन्तर्राष्ट्रिय कानुन पालना गर्न अपिल गरेका छन् ।


क्लिकमान्डु