के युक्रेन युद्धमा उत्तर कोरियाली सेना रुसको लागि लडिरहेका छन् ?



एजेन्सी । दुई वर्षयता युक्रेनसँग युद्ध गरिरहेको रुसलाई उत्तर कोरियाली सेनाले सघाइरहेको भन्दै विभिन्न पक्षबाट दाबीहरु गरिएका छन् । पछिल्लो समय रुसी सेनाको सहायताका लागि उत्तर कोरियाले आफ्ना सेना तैनाथ गरेको बताइएको छ ।

गत साता युक्रेनी न्युज एजेन्सी इन्टरफ्याक्स युक्रेन र किएभ पोस्टले जासुसी विभागको स्रोत खुलाउँदै यसबारे रिपोर्ट सार्वजनिक गरेका छन् । जहाँ ३ अक्टोबरमा डोनबसमा रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गरेको थियो । र त्यहाँ उत्तर कोरियाली सेनाका ६ जना अधिकारी मारिएको र ३ जना घाइते भएको युक्रेनी जासुसी विभागले दाबी गरेको छ ।

युक्रेनी जासुसी विभागका अनुसार उत्तर कोरियाली सेनाहरु युक्रेनमा रुसले कब्जा गरेको क्षेत्रमा पुगेका थिए । र ती सैनिकहरु इन्जिनियरिङ युनिटको रहेको पनि युक्रेनले जनाएको छ । यद्यपि रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाका रक्षामन्त्री किम योङ युनले यस वर्ष युक्रेनमा रुसको सहायताका लागि उत्तर कोरियाले आफ्ना सेना तैनाथ गर्न सक्ने बताएका थिए । र पछिल्लो समय रुसी सेनालाई उत्तर कोरियाले सघाएको कुरामा पनि सत्यता रहेको दक्षिण कोरियाले दाबी गरेको छ ।

जवकि यसै वर्ष जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विस्तृत रणनीतिक साझेदारीका लागि एक सन्धिमा हस्ताक्षर गरेका थिए । दक्षिण कोरियाले भने उत्तर कोरिया र रुसबीच भएको सम्झौतामा सैन्य गठबन्धनको मुद्दा पनि रहेको जनाएको छ । सोही सम्झौता अनुसार उत्तर कोरियाले रुसको सहायताका लागि सेना पठाएको हुनसक्ने बताइएको छ ।

तर २०२३ मा रुसी राष्ट्रपति पुटिनले उक्त रिपोर्टलाई बकबास मात्रै भएको प्रतिक्रिया दिएका थिए । तर २०२४ मा पुटिन र किमबीच भएको सम्झौतामा रक्षा सहयोगको विषय पनि सामेल थियो । त्यसबेला पुटिनले किमलाई महंगो रुसी कार उपहार दिएका थिए ।

त्यसो त गत जुनमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई लिएर चौतर्फी चासो राखिएको थियो । रुस चौतर्फी दबाबमा रहेका बेला पुटिनको उक्त भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो । युक्रेनलाई अमेरिकाले सहयोग गरिरहेका बेला अमेरिकाको दुश्मनको रुपमा चिनिएको उत्तर कोरियाले रुसलाई साथ दिँदै आएको छ ।


क्लिकमान्डु