सानोमा खेतमा काम गर्नका दुःखले भान्सा पस्थे रामु पौडेल, अहिले बाध्यताले (भिडियो)
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेललाई दशैं भन्नेवित्तीकै भेटघाट गर्ने अवसर हो भन्ने लाग्छ । आम नेपालीको दशैं नयाँ नाना र मिठो खानाका लागि भन्ने हुन्छ तर पौडेलका लागि अरु बेला भेट्न नपाएका आफन्त, साथीभाइ, छिमेकीलाई भेट्ने मौका हो ।
मासु निकै कम खाने पौडेलले दशैंलाई मासुजन्य खाना खान भन्द भेटघाट प्रयोजनका लागि बढी लिन्छन् । मासुसँग खासै लगाव नहुनुको कारण हो बाल्यकाल देखिकै परिस्थिति ।
स्याङ्जामा हुर्किका पौडेललाई सानैदेखि धेरै मासु खाएको याद छैन । ‘मासु दशैं र पुस÷माघमा मात्र खाइन्थ्यो,’ उनले सुनाए । यो कारणले उनलाई मासुप्रति खासै अभिरुची जगाएन ।
तर, सेलरोटी भनेपछि हुरुक्कै हुन्छन् उनी । ‘सेलरोटीको बासनाले बालापनको याद ल्याउँछ । बिहानै अगेनाको वरिपरि बसेर तताएको रोटी खान्थ्यौं,’ उनले बाल्यकालको स्मृती ताजगी गराए ।
देशविदेश घुम्दा अरुलाई झैं उनलाई पनि सुरुका दिनमा नेपाली खानाको सम्झना हुँदैन । ‘स्थान विशेषको खाना स्वाद लिन मन पर्छ । हाम्रो धार्मिक सांस्कृतिक महत्वका र राष्ट्रिय जनावरको मासु पो पर्छ कि भन्नेमा चाही सचेत हुन्छु ।’
हालै मध्य अमेरिकी मुलुक एल साल्भाडोर पुगेको र त्यहाँको पाँचतारे होटलमा स्थानीय मकै र आलुको परिकार तथा मदिरा देखेर रोमाञ्चित भएका थिए उनी । ‘एक हप्ता बसुञ्जेल त्यही परिकार खाएँ,’ उनले सुनाए, ‘नेपालका तारे होटलले पनि त्यसरी नै स्थानीय सामाग्री प्रबद्र्धन गर्नुपर्ने आवश्यकता मैले बुझें ।’
सामान्य खानाका पारखी पौडेल किचेन पसेर पकाउनुपर्दा सबैथरीका खाना पकाउन जान्दछन् । सानो हुँदा पनि खेतमा काम गर्नुको सट्टा भान्सा पसेर पकाउन अघि सर्थे उनी । ‘मलाई खेतबारीमा काम गर्न मन नलाग्ने भएकाले आमाले गर्ने काम काम मैले गरिदिन्थें ताकी आमा बारीमा काम गर्नुहोस्,’ उनले खाना पकाउन जान्नुको कारण अघि सारे । सानै बेलामा दाल, भात, तरकारी र साग पकाउन जानेका हुन् । ‘कहिलेकाहीँ त ढिँडो पनि बनाउँथें,’ उनले सम्झना गरे । विद्यार्थीकालमा धेरै जसो आफैं पकाउने सम्झना गरे उनले ।
अहिले चाहीँ किचेन जानुपर्दा निकै गाह्रो लाग्छ रे ।
‘बरु दुई दिन बाहिरको मगाएर वा जे छ त्यही खान्छु, बनाउन मन लाग्दैन । बरु कपडा धुन सरसफाइ गर्न मन लाग्छ,’ उनले भने, ‘बानी त्यसरी परिवर्तन भएको छ । मैलाई थाहा छैन किन ।’
पौडेल र उनकी श्रीमती दुवै जना राष्ट्र बैंकका जागिरे हुन् । श्रीमती राष्ट्र बैंकको पोखरा कार्यालयमा कार्यरत छिन् । पौडेल दुई छोरी लिएर काठमाडौं बस्छन् । ‘त्यसैले मलाई खाना पकाउने बाध्यता छ,’ पौडेलले भने, ‘यो बाध्यता व्यक्त गर्नै सक्तिनँ ।’
सादा खाना खान पाए पकाउनेको प्रशंसा गर्छन् उनी । चिल्लो पिरो मसालेदार खासै खाँदैनन् । मासु नखाने होइन, थोरै थोरै चाख्छन् । खानाकै कारण झगडा पनि गरेको अनुभव उनको छ । ‘मसालेदार पिरो खाना खान्नँ, नखाए पछि पकाउने व्यक्तिले मिहिनेत गरेर पकाएको फाल्नु हुँदैन भन्दा भनाभन हुन्छ,’ उनले सुनाए ।
दक्षिणालाई परम्परागत अभ्यास मान्छन् उनी । ‘नराम्रो कुरा त होइन तर, पछिल्लो समय विकृति बढेको छ,’ उनी भन्छन्, ‘१ रुपैयाँ दक्षिणको पनि महत्त्व हुन्छ ।’
आफूले दक्षिणालाई उपहारस्वरुप ग्रहण गर्ने र आफूले दिँदा पनि धेरै दक्षिणा नदिने उनले सुनाए ।
पहिलापहिला नयाँ नोट ल्याउने काम रामुकै हुन्थ्यो । ‘राष्ट्र बैंकको जागिरे भएकाले पनि हो, रामु आएको छ भन्ने थाहा पाएपछि नयाँ नोट लिनका निम्ति गाउँघर छरछिमेका मान्छे आउनुहुन्थ्यो,’ उनले भने । २–३ वर्ष यता चाहीँ उनले गाउँ जाँदा नयाँ नोट लिएर जान छाडेका छन् ।
सानो हुँदा दक्षिणाकै निम्ति टीका लगाउन टाढाटाढा पुगेको अनुभव उनको छ । ‘जम्मा गरेको दक्षिणाले यति धेरै खुसी र मज्जा दिन्थ्यो कि भन्नै सक्दिनँ,’ उनले भने ।
अहिले पनि दक्षिणा पाउँदा निकै खुसी लाग्ने भन्दै उनले एउटा ताजा घटना सुनाए । ‘यसैपाली घटस्थापनका दिन सासु आमा घरमा आएर टीका लगाएर दक्षिणा दिँदा सानो हुँदाको स्मृती ताजा भएको थियो,’ उनले भने ।
पिङ चाही थोरै नै खेल्छन् पौडेल । पिङ खेलेर फर्कंदा लडेर देब्रे आँखा माथि लागेको चोट देखाउँदै उनले भने, ‘अचेल त त्यसरी पिङ हाल्ने परम्परा पनि कम भएको हो कि !’
देउसी खेल्दा जम्मा गरेको चामल र पैसाले पुस १५ मनाउने सम्झना उनको छ । ‘घरभन्दा अलिक पर खेतमा पकाएर खान्थ्यौं । पिकनिक जस्तो हुन्थ्यो त्यो,’ उनले भने ।
‘यो घर कसको ?’, ‘हामी त्यसै आएका हैनौं’ जस्ता भाका लगाएर देउसी भैलो भट्याएको उनी सम्झिन्छन् । सदा झैं यसपालीको दशैं मनाउन सिरुबारी पुगेर बुवाआमा र छिमेकीसँग भेट्ने योजना रहेको उनले सुनाए ।
प्रस्तुत छ, राष्ट्र बैंकका उनै कार्यकारी निर्देशक रामु पौडेलसँग क्लिकमान्डुका लागि रोविन पौडेलले गरेको कुराकानीः