स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्छौं: अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए ।
औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियनकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए ।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताएका थिए । उनले श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरे ।
नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको भन्दै उनले सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रुपमा श्रमिकको सम्मानपूर्ण जीवन बाच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताए । यस क्रममा उनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितको लागि कोशेढुङ्गा बन्न पुगेको बताए ।
यस्तै सामाजिक सुरक्षाको पहुँचलाई विस्तार गर्दै थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो । साथै समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताएका थिए ।
‘वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको छ । श्रम सम्बन्ध सुधारको लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता,प्रभावकारी सामाजिक सुरक्षा छ । प्रभावकारी सामाजिक सुरक्षालाई मात्रै श्रमिकको सम्मानपूर्ण जीवन सुरक्षित भविष्य सुनिश्चित गर्न सकिन्छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको थियो,’ पौडेलले भने ।
सरकारले समय सापेक्ष न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयानकुल परिमार्जन गरी कार्यान्वयन गर्दै आएको पनि उनले बताए । उनले भने, ‘सरकार मुलुकमा औद्योगिक वातावरण तयार गरी वैदेशिक एवम् निजी लगानी आकर्षित गरी स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने दिशामा क्रियाशिल रहेको छ । असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका रहन्छ ।’