यात्राको पूर्वतयारी झोलामा गरौं, घरैबाट प्याकिङ गरेर निस्कनुस् दुःख पाइँदैन (भिडियो)



काठमाडौं । यात्रा गर्नुअगाडि सधैं तयारी गरेर निस्कने गर्नुपर्छ । दशैंमा उसै पनि बढी चाप हुने भएकाले कसरी यात्रा गर्ने र यात्रामा क्रममा के विषयमा ध्यान दिने भन्ने विषयमा क्लिकमान्डुले सिद्धार्थ हस्पिटालिटी ग्रुपका (सीईओ) कृष्णप्रसाद न्यौपानेसँग कुरानी गरेको छ ।

उनी भन्छन्, ‘दशैंमा धेरै भिडभाड हुन्छ । यो बेला घुमघाम गर्नेको चाप बढ्छ । दशैंमा यात्रा गर्दा कसरी जाने र तयारी के भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ ।’ उनी भन्छन्, ‘यात्रुलाई पनि गाडीवालाले बासी खाना खुवाउने ठाउँमा लैजान्छन भन्ने चिन्ता भइरहने हुन्छ । त्यसैले हरेक यात्रु घरबाट निस्किएर कुनै यात्रामा जाँदै हुनुहुन्छ भने पहिलो तयारी झोलामा गर्नुपर्छ ।’

यात्रुले यात्रा गर्नु अगाडि झोलामा तत्कालै नबिग्रने ड्राइ फ्रुट्स, ४ वटा स्याउ वा अन्य फलफुल लैजान सक्छन् । घरमै बनाएको खानेकुरा प्याक गरेर लैजान सके अझै राम्रो ।’

सार्वजनिक गाडीमा यात्रा गर्दा सवारी साधन कहाँ रोकिएको छ भनेर हेर्नुपर्छ । राजमार्गमा यात्रा गर्दा रोकिने गाडी र खाना खाने विषयमा विशेष ध्यान दिन सकिएन भने यात्रुले दुःख पाउँछन ।

न्यौपाने भन्छन्, ‘यात्रुले आफ्नो स्वास्थ्यको लागि आफैं सचेत हुनुपर्ने हुन्छ । यात्रुले नै सफा, सुग्घर भएको ठाउँमा सवारी रोक्न लगाउनुपर्छ भने यात्रुले पनि शौचालयदेखि भान्सासम्म सफा भएको ठाउँलाई बढी प्राथमिकता दिनुपर्छ ।’

दशैंमा घर गएर फर्किएका यात्रुले हाइवेमा निकै दुःख पाइरहेको हुन्छन् ।

‘फर्कदा पनि पूर्व तयारी गरेर निस्कनुपर्छ । घरबाटै प्याकिङ गरेर निस्कनुस्, बाटोमा दुःख पाउनु पर्दैन’ न्यौपानेले भने ।


राजु बास्कोटा